काठमाडौँ । सरकारी वकिलहरूले बुटवल–११ को ठेगानामा सुप्रिम सहकारीबाट लगानी भएको ऋणको जिम्मेवार रास्वपा सभापति रवि लामिछाने नै भएको जिकिर गरेका छन् ।
रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहसमा बहस गरिरहेका सरकारी वकिलहरूले बहसका क्रममा कागजपत्रले उक्त ठेगाना राखेर प्रवाह भएको ऋण गोर्खा मिडिया नेटवर्कमै गएको बताएका हुन् ।
‘बुटवलको वडा नम्बर ११ को ऋण लिनका लागि निवेदन दिने रवि लामिछाने म होइन भनेर भन्नुभएको छ,’ इजलासमा सरकारी वकिलले भनेका छन्, ‘तर कागजपत्रले ऋण उहाँकोमा नै गएको देखिन्छ । ऋण उहाँले नै चलाउनुभएको छ ।’
गोर्खा मिडिया नेटवर्कको पूँजी बढाएर १२ करोड पुर्याउनले बेलामा १५ प्रतिशत शेयर बापत रविले १ करोड ८० लाख रुपैयाँ हाल्नुपर्ने अवस्था सिर्जना भएको थियो । उक्त रकम बुटवलको सुप्रिम सहकारीबाट ल्याएको पाइएको संसदीय विशेष छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।
रवि लामिछाने, बुटवल ११ को ठेगानामा फर्जी ऋणी खडा गरेर रकम निकालिएको समितिको प्रतिवेदनले भनेको छ । रविले भने आफू उक्त ठेगाना भएको व्यक्ति नभएको जिकिर गरेका थिए ।
यो मुद्दामा ७ जना सरकारी वकिलहरूले बहस गर्दैछन् । बिहीबार खाजा ब्रेकअघि ७ मध्ये ४ जनाको बहस सकिएको छ भने ३ जनाको बाँकी छ ।