काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले बैंकिङ प्रणालीमा रहेको तरलतालाई राष्ट्र बैंकले खिच्ने नीति अर्थतन्त्र गतिशील बनाउने उपयुक्त नीति नभएको बताएका छन् ।
काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रममा पूर्व गभर्नर क्षेत्रीले राष्ट्र बैंकले ब्याजदर करिडोरमा ६ प्रतिशतभन्दा माथि अन्तर बैंकदर बनाउन नपाउने व्यवस्था गरेको समेत बताए ।
उनले त्यसलाई सहजीकरण गर्न केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा रहेको तरलता खिच्ने र बैंकहरूले ३ प्रतिशत ब्याजमा रकम लिने नीतिले अर्थतन्त्र गतिशील बनाउन नसक्ने धारणा राखे ।
उनले बैंकको खराब कर्जा बढ्दै जाँदा पछिल्लो समय उद्योगी–व्यवसायीले कर्जा पाउन नसकेको बताए । कोभिडका बेला १ प्रतिशत रहेको खराब कर्जा अहिले ६ प्रतिशत हाराहारी पुगेको बताए ।
‘पछिल्लो समय उद्योगी–व्यवसायीले कर्जा पाएनन् भन्ने छ । त्यो बैंकको खराब कर्जा बढ्दै गएको छ । कोभिडको समयमा १ प्रतिशत थियो भने अहिले ६ प्रतिशत हाराहारी पुगेको छ,’ क्षेत्रीले भने, ‘वास्तविक तथ्यांक हेर्ने हो भने १२ देखि १४ प्रतिशत पुग्छ । अहिले पत्रपत्रिकाको आधा पाना लिलामीका सूचनाले भरिन थालेका छन् । त्यसले पनि खराब कर्जा बढेको देखिन्छ । कर्जा लिएर व्यवसाय गर्दा पनि घरजग्गा बाहेक परियोजना धितोमा दिने कुरामा बैंकहरू कन्जरभेटिभ छन् ।’
उनका अनुसार धितो मूल्यांकनमा राखेर ८० प्रतिशतले गर्दा ६० प्रतिशतको कुरा आउँछ । प्रतिबद्धता अनुसार समयमा कर्जा नदिएका कारण कतिपय योजना विफल भएका छन् ।