काठमाडौँ । आर्थिक तथा व्यावसायिक वातावरण एवं लगानी अभिवृद्धिका लागि सरकारले ल्याएका अध्यादेश सकारात्मक र दुरगामी महत्त्वको रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।
सार्वजनिक सेवा सुधार गर्दै व्यावसायिक वातावरण र लगानी अभिवृद्धिका लागि कानुनमा संशोधन गर्न सरकारले ल्याएको अध्यादेश सकारात्मक रहेको चेम्बरले उल्लेख गरेको छ ।
चेम्बरले जारी गरेको विज्ञप्तिमा छ, ‘सार्वजनिक सेवा सुधार र आर्थिक तथा व्यावसायिक वातावरण एवं लगानी अभिवृद्धि गर्न अध्यादेश आएको छ, यसले मुलुकको आर्थिक वातावरणमा सुधार र लगानी अभिवृद्धि हुने विश्वास छ ।’
अर्थतन्त्र सुधार एवं लगानीमैत्री वातावरणका लागि चेम्बरले कानुनी पाटो सुधार गर्न सरकारको ध्यानाकर्षण गराउँदै आएको समेत जनाएको छ । वर्तमान अर्थतन्त्रको अवस्था सुधार गर्न सरकार प्रतिबद्ध रहेको देखिएको चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले बताए ।
रकम फिर्ता लैजान चाहने विदेशी लगानीकर्ताको प्रस्ताव ७ दिनमै स्वीकृत हुने अध्यादेशमा उल्लेखित व्यवस्थाको चेम्बरले स्वागत गरेको छ । यसले मुलुकभित्र लगानीको राम्रो वातावरण रहेको सन्देश जाने अध्यक्ष अग्रवालले बताए । ‘चेम्बरले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि लगानी सम्मेलनका क्रममा उठाएको इजी इन्ट्री र इजी एक्जिटको विषय सम्बोधन भएको छ,’ उनले भने ।
सूचना प्रविधि उद्योगले विदेशमा कार्यालय खोल्न र लगानी गर्न सक्ने अध्यादेशमा उल्लेखित प्रावधान यस क्षेत्रको विकासका लागि कोशेढुंगा भएको चेम्बरको ठहर छ ।
आर्थिक तथा व्यावसायिक वातावरण सुधार एवं लगानी अभिवृद्धि सम्बन्धी अध्यादेशबाट विभिन्न ११ र सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा सम्बन्धी अध्यादेशबाट १३ कानुन संशोधन हुनु अर्थतन्त्रको दिगो विकासका लागि महत्त्वपूर्ण भएको चेम्बरले उल्लेख गरेको छ ।