काठमाडौँ । नेपालबाट हेभी ट्रकहरू भारतको बाटो हुँदै बांङ्लादेश आउजाउ गर्न पाउने भएका छन् ।
हालै काठमाडौँमा सम्पन्न दुई देशबीच भएको व्यापार तथा पारवहन सम्बन्धी अन्तरसरकारी समिति (आईजीसी) बैठकमा नेपालका हेभी ट्रकलाई भारत हुँदै बांङ्लादेश जान आउन दिन भारत सहमत भएको हो ।
भारतको सडक यातायात तथा राजमार्ग मन्त्रालयको नियमावलीमा परिवर्तन गर्दै १८.५ टनसम्मका दुई एक्सल सवारीसाधन र २८ टनसम्मको तीन एक्सल सवारीसाधन सञ्चालन अनुमति दिइएको हो ।
काँकडभिट्टाबाट भारत फूलबारी हुँदै बांङ्लादेशको बंगलाबन्ध रुटमा चल्ने सवारीसाधनका लागि यो व्यवस्था लागु हुने भारतीय वाणिज्य मन्त्रालयले जनाएको छ ।
बैठकमा भारतले नेपाललाई २ लाख टन गहुँ आयात कोटा प्रदान गर्ने निर्णय भएको भारतीय पक्षले जानकारी गराएको थियो ।
भारत सरकारले ३० वैशाख २०७९ देखि नेपाल सहित अन्य देशमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । तर, नेपाल सरकारले बारम्बार कूटनीतिक च्यानल र मन्त्रालय स्तरबाट पहल गरेपछि २ लाख टन आयात गर्न करिब ६ दिन अगाडि कोटा पाएको हो ।