काठमाडौँ । गृहमन्त्री रमेश लेखकले समाजमा लागुऔषध सेवन ,आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको बताएका छन् ।
शुक्रवार महेन्द्रनगरमा एन प्याबसन कञ्चनपुरले आयोजना गरेको खेल महोत्सवलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अहिले मुख्य चुनौतीका रूपमा लागुऔषध सेवन,आत्महत्या र सडक दुर्घटना रहेको बताएका हुन् । उनले पछिल्लो समय लागुऔषधले भयावह स्थिति रहेको बताउँदै यसको न्यूनीकरणका लागि विद्यालय स्तरबाट अभियान सञ्चालन गर्नुपर्ने बताए ।
“समाजमा लागुऔषध,आत्महत्या र सडक दुर्घटना मुख्य चुनौतीका रूपमा देखिएको छ ।” गृहमन्त्री लेखकले भने–“लागुऔषधबाट समाजको मुक्तिका लागि अभियान सञ्चालन गर्नुपर्ने छ यसका लागि एन प्याबसनले विद्यालय स्तरबाटै सुरुवात गरोस् ।” उनले लागुऔषधले घर घरका बालबालिकाहरू प्रभावित भइरहेकाले स्थानीय सरकार र निजिसंघ संस्था सबैले गम्भीर रूपमा लिएर लागुऔषधको विरुद्धमा अभियान सञ्चालन गर्नुपर्ने बताए ।