काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्टले राजनीतिक आस्थाका आधारमा कर्मचारीको सरुवा भइरहेको बताएका छन् ।
संघीय निजामती सेवा सम्बन्धी विधेयकमाथि शुक्रवार संसद्को राज्य व्यवस्था समितिको बैठकमा राय प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् ।
कर्मचारी ट्रेड युनियन सुशासनमा समस्या रहे जस्तो गरी दोषारोपण हुने गरेको उल्लेख गर्दै उनले भने, ‘सरुवाको समस्या ट्रेड युनियनमा होइन अन्त कतै छ । आस्थाका आधारमा सरुवा भइरहेको छ ।’
नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले भट्टलाई प्रश्न गरे, ‘यो आस्था भनेको के रहेछ ?’ अध्यक्ष भट्टले जवाफ फर्काए, ‘आस्था भनेको कतै भोट हालेको आधारमा हो । आवश्यकता पर्दा त्यस्तो प्रमाण दिन सकिन्छ ।’