काठमाडौँ । मलेसियामा हुन लागेको आइसिसी यू-१९ महिला टी-२० विश्वकप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, क्यानका उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायत क्यानका सदस्य तथा महिला सिनियर टिमकी कप्तान इन्दु बर्माले शुभकामना सहित टोलीको बिदाइ गरेका हुन् ।
बिदाइ कार्यक्रममा बोल्दै क्यानका सचिव पारस खड्काले टोलीलाई कुनै पनि दबाब नलिईकन खेल्न आग्रह गरे ।
मन्त्री तेजुलाल चौधरीले उमेरमा सानो भए पनि उत्कृष्ट खेल प्रदर्शन गर्नेमा विश्वास व्यक्त गरे । उनले क्यानले पछिल्लो समय गर्दै आएको कामप्रति धन्यवाद व्यक्त गर्दै विद्यालय स्तरदेखि नै खेलाडी उत्पादन गर्नका लागि विद्यालय हरूसँग पनि सहकार्य गर्न सकिने बताए ।
कार्यक्रममा बोल्दै यू-१९ कप्तान पूजा महतोले क्यानले आफूलाई कप्तानको भूमिका दिएकोमा धन्यवाद व्यक्त गर्दै विश्वकपमा राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । ‘एसिया कपमा राम्रो खेलेर पाकिस्तानलाई हरायौँ, अब विश्वकपमा पनि इतिहास बनाउने प्रयास गर्ने छौँ, राम्रो खेल्यो भने जुन कुरा पनि सम्भव छ’, पूजाले भनिन् ।
प्रशिक्षक महेश प्रसाद रिजालले पनि प्रतियोगिताका लागि राम्रो तयारी भएको बताए ।
सिनियर महिला टिमकी कप्तान इन्दु बर्माले विश्वकपमा छनोट भएर इतिहास रचेकोमा बधाई दिँदै विश्वकपमा पनि उत्कृष्ट प्रदर्शन गरेर आउन शुभकामना दिइन् ।
नेपाली यू-१९ महिला टिम शनिबार दिउँसो मलेसिया प्रस्थान गर्ने छ ।