काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई परिमार्जन गर्दै समाजवादी गणतन्त्रतर्फ जान नचाहने राजनीतिक दल र नेता इतिहासबाट विलय हुने चेतावनी दिएका छन् ।
वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रभित्र देखिएका समस्याहरूलाई ‘सर्भिसिङ’ गरेर हल गर्दै समाजवादी गणतन्त्रको विकल्पमा जान तयार हुनु नै अहिलेको समयको माग भएको उनले बताए ।
प्रेस सेन्टर नेपाल रोल्पाको छैटौँ अधिवेशनलाई लिवाङमा सम्बोधन गर्दै संविधान र कानुनले दिएको आदेश नमान्ने र आफ्नो हठ देखाउने राजनीतिक दल र नेताहरू सिद्धिने उनले चेतावनी दिए ।
‘जसले हठ गर्छ, त्यो नेता सिधिन्छ र पराजित हुन्छ । जुन पार्टीले हठ गर्छ पार्टी पनि सिद्धिन्छ । २०६२-६३ को आन्दोलन पछिको अवस्था हेर्दा २० वर्ष एउटै व्यवस्था कायम छ । शहरी इलाकामा नयाँ नयाँ मेयरहरू आए । देशभरि पुराना राजनीतिक दलहरूमाथि प्रश्न उठ्न थाले,’ उनले भने, ‘नेपालको राजनीतिक व्यवस्था, आर्थिक व्यवस्थामाथि, हामीले गरेको प्रयोगका सीमाहरूमाथिको प्रश्न हो यो । यसलाई पुराना दलहरू र नेताहरूमाथिको प्रश्नको रूपमा कतिपयले लिएका छन् । अर्का थरीले राजतन्त्रतर्फ फर्कन खोजेको रूपमा अर्थ लगाएका छन् । हाम्रो पार्टीले व्यवस्थामाथि प्रश्नहरू हुन्छन् तर यसलाई सर्भिसिङ गरिरहनुपर्छ र अघि बढ्नुपर्छ भनेको छ ।’
अहिलेको व्यवस्थामाथिका प्रश्नहरूको सम्बोधन र सुधार गर्दै जानुको विकल्प नभएको उनले बताए ।