काठमाडौँ । संघीय खानेपानी मन्त्री प्रदीप यादवले नुवाकोटमा बाढी र पहिरोले क्षतिग्रस्त विदुर खानेपानी आयोजनाको मुहानको स्थलगत अवलोकन गरेका छन्। उनले तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कार्यहरूको योजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन्।
नुवाकोटको विदुर नपाभित्रका ४५ सय घरधुरीले पिउँदै आएको फलाखु खोलाको मुहानमा पुगेर मन्त्री यादवसहितको टोलीले आयोजनालाई प्रभावकारी रूपमा अगाडि बढाउने आफूले प्राविधिक टोली खटाउने बताए।
विदुर नपाभित्र खानेपानी उपलब्ध गराउँदै आइरहेको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामार्फत सञ्चालित खानेपानी ल्याइएको फलाखु खोलाको बाँधस्थल र पाइप लाइनमा बाढी र पहिरोले गरेको क्षतिको पुनर्निर्माण तथा खानेपानीको बाँध निर्माणको लागि मन्त्री यादवसहितको टोलीले स्थलगत निरीक्षण गरेका हुन्।
उनले मन्त्रालयको तर्फबाट आवश्यक सहयोग, सहजीकरण तथा योजना कार्यान्वयनमा सहयोगको प्रतिबद्धता जनाएका छन्। उनले पिउने पानी महत्त्वपूर्ण रहेको र यसको मर्मत तथा पुनर्निर्माण कार्यहरूलाई सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गर्ने आश्वासन दिएका हुन्।
सोही क्रममा विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले खानेपानी मन्त्री प्रदीप यादवसमक्ष विभिन्न आठ बुँदे मागसहित ज्ञापन पत्र बुझाएका छन्। खानेपानीको फलाखु मुहान अवलोकनमा पुगेका मन्त्री यादवलाई बाँधस्थलमै संस्थाका अध्यक्ष सञ्जीवबहादुर श्रेष्ठले विदुर नपाका मेयर राजन श्रेष्ठको उपस्थितिमा ज्ञापन पत्र बुझाएका हुन्।