विशाल घिमिरे र समीर जोशी: कम उमेरमै सरकारी सेवामा उत्कृष्टता कायम गरेका दुई अनुकरणीय युवा। अध्ययन, परिश्रम र इमान्दारिताको यात्राले उनीहरूलाई केवल सफलता मात्र होइन, समाजका लागि प्रेरणाको स्रोत बनाएको छ। भविष्यका मुख्य सचिव बन्ने उनीहरूको लक्ष्यले नयाँ पुस्तालाई आशा र साहस प्रदान गरेको छ ।
काठमाडौँ । बिदेसिने हजारौँ युवा तथा नेपालमा केही नहुने भन्दै आफ्नो जीवनको उज्ज्वल भविष्य खोज्न नसकेका लाखौँ युवाहरूका माझ उत्कृष्ट प्रेरणा बनेका छन्, कपिलवस्तुको वाणगंगा नगरपालिका-१ का विशाल घिमिरे र डोटीको साना गाउँ पूर्वी चौकी गाउँपालिका वडा-४ का समीर जोशी । सरकारीमा कम उमेरमै प्रवेश गर्ने कर्मचारीको रूपमा विशाल र समीरले चौतर्फी चर्चा बटुलिरहेका छन् ।
कलिलो उमेरमै सरकारीमा प्रवेश गरेका विशाल रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ मा सचिवका रूपमा कार्यरत छन् भने समीर रसुवाको आमाछोदिङमो गाउँपालिकामा प्राविधिक सहायकका रूपमा कार्यरत छन् । सरकारी सेवामध्ये आकर्षक मानिने निजामती जगतमा विशाल र समीरले कम उमेरमै प्रवेश पाएका हुन् ।
युवाहरूले सम्हालेको सरकारीप्रति जनताको विश्वास माया भन्दा पर जान नहुने उनीहरू बताउँछन् । देश र जनताको भरोसा आफूमा अडिएकाले आफूले आफ्नो ऊर्जा, समय र अवसरलाई बदनाम गर्नेतर्फ कुनै हिसाबले लाग्न नहुने विशाल र समीरको भनाई छ ।
१८ वर्षका विशालको निजामती यात्रा
उमेरले १८ वर्ष मात्र पुगेका विशाल घिमिरे झट्ट हेर्दा भर्खर स्कुल पढ्दै गरेको विद्यार्थी जस्तो देखिन्छन् । उनी सरकारी कर्मचारी हुन् भन्दा कमैले पत्याउँछन् । तर, उनी सरकारी नायब सुब्बा (नासु) हुन् ।
कपिलवस्तुको वाणगंगा नगरपालिका-१ का विशाल लुम्बिनी प्रदेशको लोक सेवा आयोगको परीक्षामा सहायक पाँचौँ तह उत्तीर्ण गर्ने सम्भवतः कान्छो कर्मचारी हुन् ।
वि.सं. २०६२ पुस ५ गते जन्मिएका विशाल असोज २० गते रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ४ मा सचिवका रूपमा कार्यरत छन् । सानैदेखि लोकसेवाप्रति रुचि र पढाइमा अब्बल उनले कक्षा १२ उत्तीर्ण हुनसाथ केही महिनामै स्वः अध्ययन गरेरै पहिलो पटकमै नासुको परीक्षा उत्तीर्ण गर्न सफल भएका हुन् । १८ वर्षमै सरकारी सेवा प्रवेश गर्दा आफूसँगै उनका बुवा आमा झनै खुसी भएको उनले बताए ।
‘१८ वर्ष नपुगेसम्म लोकसेवामा फर्म भर्न पाइँदैन । मैले १८ वर्ष २ महिनाको हुँदा फारम भरे, १८ वर्ष ९ महिनाको हुँदा नाम निकालेँ,’ विशाल भन्छन् । नासुमा प्रवेशपछि उनले आफूलाई ‘इन्स्पायर’ गर्न ३४ वर्षमा सह–सचिव हुने ‘सेड्युल’ बनाएको बताए ।
पारिवारिक अवस्था
विशालका बाबु बेदराज र आमा सुन्दरी सामान्य लेखपढ र गाउँमा खेती किसानी गर्छन् । विपन्न परिवारमा जन्मिएका उनले घरमा धेरै अभाव भोग्नुपरेको र आमा बुवाले काममा जोतिएर आफूलाई राम्रोसँग पढाएको सुनाए । विशालले विद्यालयमा पढ्दा कुनै फजुल खर्च गरेनन् ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका–५ मैदानमा जन्मिएका विशालले विद्यालय तहमा ५ वटा स्कुल बदलेर पढेको बताए । विद्यालय तहका सबै परीक्षामा प्रथम हुँदै आएका उनी कक्षा १–५ जनकल्याण प्रावि अर्घाखाँची, कक्षा ६–८ श्रीकृष्ण मावि अर्घाखाँची, कक्षा ९–१० सिद्धार्थ मावि कपिलवस्तु र कक्षा ११ र १२ कालिका मानव ज्ञान मावि बुटवलबाट उत्तीर्ण गरेका हुन् । व्यवस्थापन संकाय लिएर पढेका विशालले ३.६५ जिपिएसहित प्लस टु’ उत्तीर्ण गरेका हुन् ।
कोचिङ टयिुसनभन्दा इन्टरनेटबाट स्वः अध्ययन गरेर पढ्दा राम्रो हुने उनको बुझाइ छ । आफ्नो क्षमता बुझेर लोक सेवाको तयारी गर्न उनी सुझाउँछन् । अध्ययनको नियमितता र विषयवस्तुको गहिराइमा पुग्ने प्रयास गर्दै धैर्यताका साथ निरन्तर मेहनत गरे लोकसेवा पास गर्न गाह्रो नहुने विशाल बताउँछन् । आधुनिक नयाँ प्रविधि, बदलिँदो समय–परिवेश सहितको ज्ञान, नयाँ ऊर्जाका साथ लागिरहनुपर्छ सरकारी सेवा टाढा छैन,’ उनी भन्छन्, सरकारी सेवाको ‘करिअर’मा कम उमेर र छोटो समयमा पुग्न लोकसेवा पढ्नुपर्छ, सफलताको सिँढी चढ्नलाई धेरै ठुलो चुनौती छैन ।’
मुख्यसचिव बन्ने लक्ष्य
आफ्नो लक्ष्य मुख्यसचिवसम्म पुग्ने रहेको विशाल बताउँछन् । उनी अहिले जागिरसँगै स्नातक तहमा पनि अध्ययनरत छन् । ‘माथिल्लो तहको आयोग दिन मैले स्नातक तह उत्तीर्ण गर्नुपर्छ,’ उनी भन्छन्, ‘अब चार वर्ष स्नातक पढ्छु । पास भएपछि शाखा अधिकृतको तयारी गर्छु ।’ राम्रो अंक ल्याएर स्नातक उत्तीर्ण गर्ने गरी आफूले पढेको विशालले बताए ।
पछिल्लो समय नयाँ पुस्ता धेरै बिदेसिने लहरसँग रमाएका छन् । तर, विशाल भने विदेश जाने कुराको विपक्षमा छन् । विदेश जानुको सट्टा युवाहरू सरकारी सेवामा आएर जनताको अपेक्षा पूरा गर्न लाग्नुपर्ने उनी बताउँछन् । नयाँ पुस्ताका युवाहरू सरकारी सेवामा आउँदा जनताले पनि सकारात्मक परिवर्तनको अपेक्षा गर्छन्, उनी भन्छन्, पछिल्लो समय युवा पुस्तामा विदेश जाने लहर छ । म भने यसको विपक्षमा छु । त्यस कारण सरकारीमा प्रवेश गरेको हुँ ।’ उनले सरकारीमा भ्रष्ट प्रवृत्ति पनि रहेकाले होसियार र जनताको सेवाको लागि काम गर्नुपर्ने बताए ।
समीर जोशीको निजामती यात्रा
डोटी जिल्लाको साना गाउँ पूर्वी चौकी गाउँपालिका वडा–४ मा जन्मिएका २३ वर्षका समीर जोशीको जन्म २०५८ चैत २८ गते हो । उनी अहिले रसुवाको आमाछोदिङमो गाउँपालिकामा प्राविधिक सहायकका रूपमा कार्यरत छन् ।
उनले वि.सं. २०८१ मा प्राथमिक तह शिक्षकमा अछाम जिल्लाबाट एक नम्बरमा सिफारिस भए । वि.सं. २०८१ मै बागमती प्रदेशमा प्राविधिक सहायकमा सिफारिस भएका उनले फेरि वि.सं. २०८१ मै प्रकाशित नतिजामा बागमती प्रदेश अन्तर्गत शिक्षा अधिकृत सातौँ तहमा खुला तर्फबाट नाम निकाल्न सफल भएका छन् । कमै उमेरमा एकै वर्षमा ठुलो सफलता प्राप्त गर्ने समीर यसलाई धेरै सफलताको रूपमा नलिएको बताउँछन् ।
लोक सेवाका लागी २०७६ सालदेखि तयारी गरेको उनले बताए । शिक्षण ऐन नियमावली भनेको के हो ? ऐन कानुनका कुराहरू अध्ययन गर्दै जाँदा थाहा पाएको उनले बताए ।
एकै वर्षमा एक पछि अर्को सफलता
समीरले पहिलो सफलताको रूपमा प्राथमिक तह शिक्षा सेवा आयोगबाट अछाम जिल्लाबाट पहिलो नम्बरमा सिफारिस भएकोलाई लिन्छन् । त्यसपछि दोस्रो सफलता बाग्मती प्रदेशको प्राविधिक सहायक शिक्षा सेवामा सिफारिस भएकोलाई लिन्छन् । अहिले उनी शिक्षा सेवा प्रशासन तर्फको प्राविधिक सहायक पदमा कार्यरत छन् । र, तेस्रो सफलताका रूपमा उनले बागमती प्रदेश अन्तर्गत शिक्षा अधिकृत सातौँ तहमा खुला तर्फबाट नाम निकाल्न सफल भए । यसको अन्तरवार्ता भने बाँकी नै छ । समीर लोक सेवाको विभिन्न पदमा नाम निकाल्नु भन्दा पहिला राहत शिक्षकको रूपमा राहत कार्यरत पनि थिए । केही समय काम पनि गरे । पछि आफ्नो पढाइले पनि निरन्तरता दिन प¥यो भनेर राजीनामा उनले बताए ।
समीरको पारिवारिक पृष्ठभूमि
प्राथमिक तहको पढाई समीरले डोटी जिल्लामा गरेका थिए । २०७२ सालमा डोटी जिल्लाबाट नै एसएलसी पास गरेका उनले ११-१२ भने कैलाली जिल्लामा नै गरेका थिए । त्यसपछि स्नातक तह सुदूरपश्चिम विश्व विद्यालय अन्तर्गतको श्री दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबाट गणित विषय लिएर २०८० सालमा स्नातक गरेका थिए । अहिले उनी स्नातकोत्तर तहमा गणित विषय लिएर दोस्रो सेमेस्टरमा अध्ययनरत छन् ।
सरकारीमा प्रवेश गर्नको लागि शिक्षकहरू भूमिका धेरै नै रहेको समीर बताउँछन् । यस्तै यस सेवामा प्रवेशको लागि आमाबुवाबाट भन्दा पनि आफ्नो अङ्कले प्रेरणा दिएको उनले बताए । धेरै पटक प्रयास गर्दा पनि लोक सेवामा सफल हुन नसक्नेहरू र निजामती क्षेत्रमा लाग्न रुचि भएकाहरूको लाग उनी अहिले उत्प्रेरणाको पात्र बनेका छन् ।
युवाहरूमा जगाएको आशा
विशाल घिमिरे र समीर जोशी जस्ता युवाहरूले कम उमेरमै सरकारी सेवामा प्रवेश गरेर सिर्जना गरेको प्रभावकारी छवि केवल व्यक्तिगत सफलता मात्र होइन, यो सम्पूर्ण समाजका लागि प्रेरणाको स्रोत हो । युवाहरूको बिदेसिने प्रवृत्ति बढिरहेको सन्दर्भमा उनीहरूले देखाएको संकल्प र योगदानले सरकारी र प्रशासनिक सुधारको नयाँ आधार तयार गरिरहेको छ ।
उनीहरूको यात्रा केवल सफलताको शृङ्खला मात्र होइन, निरन्तर अध्ययन, मेहनत, र इमानदारिताको परिणाम पनि हो । यसले नयाँ पुस्ताका लागि सरकारी सेवामा भविष्य खोज्न प्रेरणा प्रदान गरेको छ ।
विशाल र समीरले देखाएको अनुकरणीय उदाहरणले परिवर्तनको यो यात्रालाई अझ उचाइमा पुर्याउने आशा गर्न सकिन्छ । उनीहरूको मुख्यसचिव बन्ने लक्ष्य, सच्चा निष्ठा र परिश्रमले देशको प्रशासनिक प्रणालीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गर्न सकिन्छ ।