Logo २ माघ २०८१, बुधबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

४२औँ प्रयासपछि सरकारी सेवा प्रवेश : बाजुराका गगन बी.क.को प्रेरणादायी संघर्ष कथा


९ मंसिर २०८१, आइतबार


काठमाडौँ । बाजुराको बडीमालिका नगरपालिका-९ मा जन्मिएका गगन बी.क.ले शिक्षा र रोजगारीका लागि कठोर संघर्ष गरे । उच्च शिक्षाका लागि राजधानी काठमाडौँ आएका गगनले विगत एक दशकमा धेरै कठिनाइ झेले । दुर्गम गाउँमा जन्मेका उनले २०७१ सालमा लोक सेवा आयोगको नायब सुब्बाको परीक्षा दिएर आफ्नो यात्रा सुरु गरे ।

उनले बैंकिङ क्षेत्रमा १६ पटक परीक्षा दिए, तर सफलता हात लागेन । त्यसपछि निजामती सेवामा केन्द्रित हुँदै छैटौँदेखि चौथो तहसम्मका सबै परीक्षा दिए । एक दशक लामो संघर्षपछि, ४२औँ प्रयासमा चौथो तहमा नाम निकाल्न सफल भए । गगनको सफलतामा उनको परिवारसँगै बहिनी धनु बी.क.को ठूलो योगदान छ । धनुले गगनका पढाइ र तयारीका लागि आर्थिक सहयोग गर्दै सधैँ प्रेरित गरिन् । “मेरो बहिनीको बलिदानबिना यो सम्भव हुने थिएन,” गगन भन्छन् ।

उनको यो यात्रा मेहनत, धैर्यता र लक्ष्यप्रतिको दृढताको उत्कृष्ट उदाहरण मात्र नभई, लोक सेवा प्रणालीप्रतिको विश्वासको पनि प्रतीक हो । “परीक्षा राम्रो लाग्यो भनेर मात्रै पास हुँदैन । तर, निरन्तर मिहेनत गर्‍यो भने सफलता अवश्य मिल्छ,” गगनले प्रशासनसँग भने ।

बैंकिङ क्षेत्रदेखि निजामती सेवासम्मको यात्रा
गगन बी.क.ले ४२औँ पटकको लोक सेवा परीक्षामा चौथो तहमा नाम निकाल्दै प्रदेश प्रशासनतर्फ सिफारिस हुन सफल भएका छन् । २०७१ सालमा पहिलो पटक नायब सुब्बाको लागि परीक्षा दिएका उनले दशकभर निरन्तर प्रयास गरे ।

बैंकिङ क्षेत्रमा सम्भावना खोजेका गगनले नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकजस्ता संस्थाहरूमा १६ पटक परीक्षा दिए । “बैंकिङ क्षेत्रतर्फ प्रयास गर्दा सफलता नमिलेपछि निजामती सेवामा आएँ,” उनी भन्छन् । निजामती सेवामा उनले छैटौँ तहदेखि चौथो तहसम्मका सबै परीक्षा दिए । 

“म आफैँले ४२ पटक परीक्षा दिएको छु । तीमध्ये लिखित पास भएपछि पनि तेस्रो पटकमा मात्रै सिफारिस भएँ । यसले मलाई निरन्तर मिहेनत गर्न सिकायो,” गगन भन्छन् । अहिले उनी तनहुँको भानु नगरपालिकामा वडा सचिवको रूपमा कार्यरत छन् । उनी कार्तिक ३० बाट कार्यालयमा हाजिर भएका हुन् । 

शैक्षिक यात्रा र परिवारको योगदान
गगनको संघर्षमय यात्रामा उनका परिवार विशेषतः बहिनी धनु बी.क.को ठूलो भूमिका रहेको छ। “मेरो बहिनीले सबै खर्च जुटाइन् । उनको आर्थिक र भावनात्मक सहयोगबिना यो सम्भव हुने थिएन,” गगन भन्छन् । आफूभन्दा आठ वर्ष कान्छी बहिनी अहिले राजधानीमै काम गर्छिन् ।

गगन आफ्नो गाउँको आफ्नो समुदायबाट काठमाडौँमा अध्ययन गर्ने पहिलो पुस्ता भएको बताउँछन् । “मेरो समुदायबाट काठमाडौँमा आएर पढ्न थालेको पहिलो वा दोस्रो पुस्ता म नै हुँ । मलाई यस यात्रामा दुई जना सिनियर दाजुहरूको मार्गदर्शनले पनि सहयोग गर्‍यो,” उनले भने ।

स्नातक तह अध्ययन गर्दै लोक सेवा तयारी थालेका गगनले मास्टर तहको पढाइ पनि सकाएका छन् । “पढाइ र तयारी सँगसँगै गर्दा कहिलेकाहीँ थकान महसुस हुन्थ्यो । तर, आफ्नो लक्ष्यप्रति दृढ भएर अघि बढ्दा नतिजा अवश्य पाउने रहेछ,” उनले थपे ।

लोक सेवाको निष्पक्षता र कोटा प्रणालीले दिएको अवसर
लोक सेवा आयोगको निष्पक्ष प्रक्रियाले उनलाई थप प्रेरित गर्‍यो। “यहाँ सबैले परीक्षा दिन्छन्, र कोहीसँग पनि कुनै खाले मोलाहिजा नगरीकन योग्यता प्रणालीको आधारमा सिफारिस गरिन्छ भन्ने सुनेपछि यसले मलाई निष्ठापूर्वक प्रयास गर्न हौस्यायो,” उनले भने ।

०६७ सालमा एसएलसी दिँदै गर्दाका गणित विषयका शिक्षक जितबहादुर नेपालीले लोक सेवा नै पहुँचविहीनहरूको लागि उपयुक्त भनेका थिए । त्यसबेला भनेको शब्द गगनको प्रेरणाको स्रोत बन्यो ।

गगन दलित कोटाबाट सफल भएका हुन् । कोटा प्रणालीले अवसर दिएकोमा उनी राज्यप्रति आभार व्यक्त गर्छन् । “यो प्रणाली नभएको भए म आज यहाँ हुने थिइनँ । जसले यो व्यवस्था ल्यायो, ती सबैलाई धन्यवाद दिन्छु,” उनी भन्छन् ।

सफलताका लागि मिहेनतको महत्त्व
गगनको अनुभूतिमा लोक सेवा परीक्षामा सफलता त्यति सहज हुँदैन । “परीक्षा राम्रो भयो भनेर मात्रै पास नहुने रहेछ । मैले जुन परीक्षा निकै राम्रो भयो भनेको थिएँ, त्यहाँ कहिल्यै नाम निस्केन। तर, जुन नराम्रो भयो भन्ने लागेको थियो, त्यहीँ सफल भएँ,” उनी भन्छन् ।

उनका अनुसार निरन्तर मिहेनत र धैर्यताको फल अवश्य पाइन्छ । “शतप्रतिशत सफलता ग्यारेन्टी छैन । तर, निरन्तर मिहेनत गरे नाम निस्किन्छ भन्नेमा म ढुक्क छु,” उनले आत्मविश्वासका साथ भने ।

निजामती सेवामा प्रवेशपछि गगनले आफ्नो भूमिका र दायित्वलाई नयाँ ढंगले बुझ्न थालेका छन् । “निजामती सेवा आएर तरकारी मात्रै फेर्ने हो, धेरै परिवर्तन हुने होइन । तर, एउटा लक्ष्य लिएर मिहेनत गर्दा सफलता प्राप्त गर्न सकिन्छ भन्ने महत्त्वपूर्ण पाठ सिक्न पाइन्छ,” उनी भन्छन् । 

गगन बी.क.को संघर्ष र सफलताको कथा केवल उनको व्यक्तिगत यात्रा मात्र नभई, लाखौँ युवाहरूका लागि प्रेरणाको स्रोत बनेको छ । ४२ पटकको प्रयास र दशक लामो मिहेनतले जसरी गगनलाई सफलता दिलायो, यो हरेक व्यक्तिको हकमा लागू हुन्छ । “जीवनमा असफलता धेरै आए पनि लक्ष्यप्रति दृढता र निरन्तरता राखे सफलता अवश्य मिल्छ,” उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस