काठमाडौँ। नेकपा माओवादी केन्द्रले निर्वाचन आयोगको ढाँचाअनुसार दलको विधान मिलाउन लागेको जनाएको छ ।
माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार पार्टीको विधान महाधिवेशनले पारित गरेको विधानलाई निर्वाचन आयोगको ढाँचा अनुसार मिलाउन लागिएको छ ।
२०८० साल फागुन ४ गते काठमाडौंमा माओवादी केन्द्रको विधान अधिवेशन सम्पन्न भएको थियो । उक्त अधिवेशनले पारित गरेको विधानको मूल विषय केही पनि चलाउन नमिल्ने उल्लेख गर्दै महासचिव गुरुङले भाषागत त्रुटिहरू मिलाएर निर्वाचन आयोग पठाइने बताए ।
माओवादी केन्द्रले विधानलाई मिलाउन भनेर वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा चार सदस्यीय कार्यदल नै गठन गरेको छ । मंगलबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले कार्यदल गठन गरेको महासचिव गुरुङले जानकारी दिए । कार्यदलमा महासचिव गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा सदस्य रहेका छन् ।
महासचिव गुरुङका अनुसार कार्यदल स्तरका काम शुरु गरिएको छ ।