काठमाडौँ । पूर्व गृहसचिव तथा पूर्व लोक सेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले सरकार र संसदमा रहेका केही व्यक्तिहरूको मानव तस्करी तथा अन्य आपराधिक गतिविधिमा संलग्नता सम्बन्धमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै नेपालमा कानुनी राज्यको स्वरूप क्रमशः विशेषाधिकार प्राप्त व्यक्तिहरूको ‘विशेषाधिकार राज्य’ (प्रेरोगेटिभ स्टेट) मा रूपान्तरण हुँदै गएको संकेत गरेका छन्।
उनले चेतावनी दिँदै भनेका छन्, “यसलाई निर्ममताका साथ नरोक्ने हो भने राज्य नै आपराधिक संगठनमा बदलिने खतरा रहेको छ।” मैनालीका अनुसार, यस्तो स्थिति रोक्नका लागि जनस्तरबाट खबरदारी र दबाब आवश्यक छ।
मैनालीले सामाजिक सञ्जालमा पोस्ट गरिएको आफ्नो स्ट्याटसमार्फत सबै नागरिकलाई सचेत रहन र राज्यका प्रमुख संस्थाहरूमा व्याप्त अपराध र भ्रष्टाचारविरुद्ध आवाज उठाउन आह्वान गरेका छन्। उनको यो अभिव्यक्तिले नेपालको वर्तमान राजनीतिक र प्रशासनिक प्रणालीप्रतिको असन्तोष झल्काएको छ र सुधारको तत्काल आवश्यकता रहेको उनले औँल्याएका छन्।







