काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने दाबी गरेका छन् ।
आफूले मन्त्रालयको नेतृत्व सम्हालेयता अधिकांश स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको उनले बताए । मन्त्रीले यस्तो भने पनि अझै करिब २३० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन छन् ।
मन्त्री गुप्ताले भने आफू मन्त्रालय आउँदा पूरै खाली रहेको जिल्ला समन्वय समितिमा आवश्यक कर्मचारी र ५७ वटा जिल्लामा प्राविधिक जनशक्ति (इन्जिनीयर) समेत पठाइसकेको बताएका छन् । केही खाली रहेका नगर/गाउँपालिकाहरूमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन गरिने उनको भनाइ छ ।
करिब एक दशकदेखि एकै ठाउँमा रहेर काम गरिरहेका एक हजार २५८ जना कर्मचारी र अन्य कर्मचारीहरूलाई विभिन्न ठाउँमा सरुवा गरेर मन्त्रालयले प्रशासनिक क्षेत्रको कामलाई व्यवस्थित र चुस्तदुरुस्त बनाउने प्रयत्न गरेको मन्त्री गुप्ताको दाबी छ । पालिकाहरूमा कर्मचारी छैनन् र निमित्तको भरमा चलिरहेका छन् भन्ने दिनको अन्त्य गर्न आफूले भरपुर पहलकदमी लिइरहेको उनको दाबी छ ।
एकैचोटी ठूलो संख्यामा कर्मचारी सरुवा गर्दा विभिन्न तहबाट उच्च दबाब झेलेको बताउँदै उनले कामको सन्दर्भमा आउने दबाबको अगाडि नझुक्ने बताए । उनले कर्मचारी सरुवासम्बन्धी नियमावली मन्त्रालयबाट पारित गरी आवश्यक राय-सुझावका लागि कानुन मन्त्रालय पठाइएको जानकारी पनि दिए ।
मन्त्रालय सम्हालेको तीन महिनाको अवधिमा संघीय निजामती विधेयकमाथिको छलफलले तीव्रता पाएको र आगामी संसद अधिवेशनबाट सो विधेयक पारित गराउने विश्वास पनि उनले बताए ।
एक सय दिनको अवधि मन्त्रालयका गतिविधि बुझ्न, आवश्यक ब्रिफिङहरू लिन र विभिन्न प्रकृतिका कामकारबाहीबारे जानकारी लिन खर्च भएको बताउँदै उनले यो बीचमा धेरै कामको थालनी भइसकेको समेत दाबी गरे । अब क्रमशः परिणाम आउने भन्दै १०० दिने कार्यकाल पूरा भएसँगै अब सिङ्गो सरकारकै गति बढ्ने पनि बताए ।