काठमाडौँ । पूर्वगृहमन्त्री रवि लामिछानेको मोबाइल परीक्षणका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । सूर्यदर्शन सहकारीमा बचतकर्ताले राखेको रकम गोर्खा मिडिया नेटवर्कमार्फत अनियमितता गरेको आरोपमा पक्राउ परेका लामिछानेको मोबाइल परीक्षणका लागि प्रहरीले डिजिटल फरेन्सिक ल्याबमा पठाएको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले केही दिनअघि उनको मोबाइल जाँचका लागि प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको हो ।
डीएफएल जाँचपछि उनको मोबाइलबाट डिलिट गरिएका विवरणहरू समेत रिकभर हुनेछ । यसबाट डिलिट भएका इमेलसहितका विवरण पनि रिकभर हुन्छन्, अनुसन्धानका क्रममा केही नयाँ प्रमाण हात पर्न सक्ने भएकाले अनुसन्धानको नियमित प्रक्रिया अन्तरगत नै डीएफएलमा पठाइएको हो ।
कास्की प्रहरीले लामिछानेलाई गएको शुक्रबार जिल्ला अदालतमा उपस्थित गराएर सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि सात दिन म्याद लिएको थियो । सात दिनमा अनुसन्धान र बयान लगायतका प्रक्रिया नसकिएपछि फेरि म्याद थपका लागि अदालत उपस्थित गराउनुपर्छ ।