काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलहरूले ज्ञापन पत्र बुझाउने समय सरेको छ । प्रधानमन्त्री ओलीसहित विपक्षी दलको नेताहरूको कार्य व्यस्तताको कारणले ४ बजेका लागि तय भएको ज्ञापन पत्र बुझाउने कार्यक्रम ८ बजेलाई सारिएको हो ।
शुक्रबार माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डाकेको विपक्षी दलको बैठकले ज्ञापन पत्रको मस्यौदा बनाउन कार्यदल बनाएको थियो । कार्यदलमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र रास्वपा नेता शिशिर खनाल रहेका छन् ।
प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी लगायतका दलको बैठकले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेको थियो ।
बाढी पहिरोबाट ठूलो क्षति हुँदा पनि सरकार राहत तथा उद्धारमा असफल भएको विपक्षी दलको निष्कर्ष छ । संसदको विशेष अधिवेशन बोलाउन माग गर्नेसम्मको विपक्षी दलको तयारी छ । आज जुम्ला पुगेका ‘प्रचण्डले सरकारले गर्नुपर्ने काम नगरेको र नगर्नुपर्ने काम गरिरहेको उल्लेख गर्दै अब सरकार गठन भएको सय दिन पूरा भएपछि विरोधका कार्यक्रम सुरु गर्ने बताएका थिए।