सार्वजनिक खर्चको अधिकतम प्रतिफल हासिल गर्नु सार्वजनिक खरिदको प्रमुख उद्देश्य हो। यसका लागि प्रतिस्पर्धा, स्वच्छता, इमानदारिता, जवाफदेहिता र विश्वसनीयता प्रवर्द्धन गरी स्रोत र साधनको मितव्ययी, प्रभावकारी तथा विवेकपूर्ण परिचालन गरिनु पर्दछ। सार्वजनिक खरिदको उद्देश्य प्राप्ती, खरिद तथा ठेक्का व्यवस्थापनलाई व्यवस्थित गराउनको लागि सार्वजनिक खरीद ऐन, २०६३ र सार्वजनिक खरीद नियमावली, २०६४ कार्यान्वयनमा ल्याइएको छ।
प्रायः सबै ठेक्का सम्झौताको लागत र समय बढ्नु, एउटै आयोजना वर्षौंसम्म पूरा नहुनु, भएको कार्य पनि गुणस्तरीय नहुनु जस्ता कारण सार्वजनिक खरीद ऐन संशोधन गर्नुको विकल्प नरहेको धेरैको तर्क रहेको छ। खरिद ऐन, नियमावलीको कारण नै खरिद तथा ठेक्का व्यवस्थापनमा जटिलता भएको भन्ने गरिन्छ। कानूनमा नै सबै विषय उल्लेख गर्न सम्भव पनि हुदैन। कतिपय विषयलाई कार्यविधि तथा निर्देशिका जस्ता विषयद्वारा निर्देशित तथा व्यवस्थित गर्न सकिन्छ। यसका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले तदारुकता देखाउन आवश्यक रहेको छ।
हाल बोलपत्र सम्बन्धी कागजात तयारी गर्दा विशेषत प्रमुख निर्माण गतिविधि निर्धारण र मूल्याङ्कन तथा मूल्य समायोजन गर्दा प्रयोग हुने इन्डीसेज गुणाङ्क परिधि (मूल्य समायोजन सूचकांक, रोजगारदाताको प्रस्तावित वजनको दायरा गणना) निर्धारण सम्बन्धमा धेरै प्रश्न उठ्ने गरेको कारण यहाँ चर्चा गर्न खोजिएको छ।
प्रमुख निर्माण गतिविधि निर्धारण र मूल्याङ्कन
कुनै पनि निर्माण कार्य गर्दा धेरै प्रकारका क्रियाकलापहरू समावेश हुने गर्दछन्। त्यस्ता क्रियाकलापहरू मध्ये कतिपय क्रियाकलापहरू साधरण प्रकृतिका रहन्छ भने कतिपय विशिष्टीकृत प्रकृतिका रहने गर्दछन्। त्यस्ता विशिष्टिकृत प्रकृतिका क्रियाकलापहरूको सम्पन्नता विना निर्माण कार्यको उपादेयता नहुने हुन्छ। सामान्य अनुभव र योग्यताका आधारमा त्यस्तो कार्य सम्पन्न गर्न कठिन प्राय हुन्छ। उदाहरणको लागि सडक पुल निर्माणमा प्रयोग हुने उच्च ग्रेडको कंक्रिट (सामान्यतया एम३० ग्रेड भन्दा माथिको), सडक निर्माण गर्दा प्रयोग हुने अस्फाल्ट कंक्रिट जस्ता विशिष्टिकृत कार्यहरू मुख्य क्रियाकलापको रुपमा रहन सक्दछन्।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम २६ मा प्रमुख निर्माण गतिविधिको लागत अनुमानमा उल्लिखित परिमाणको कम्तीमा असी प्रतिशत वार्षिक उत्पदान दर (प्रोडक्सन रेट) वा संख्या वा परिमाणको आधारमा सम्पन्न गरेको विशेष अनुभव बमोजिम खरिद कारबाहीमा भाग लिने बोलपत्र दाताको योग्यताको आधार निर्धारण गर्नु पर्ने प्रावधान रहेको छ। साथै सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार पारेको बोलपत्र सम्बन्धी नमूना कागजातमा मुख्य क्रियाकलापहरूको अनुभवको योग्यताको आधार निर्धारण गर्ने प्रावधानको थप व्याख्या समेत गरिएको छ।
उत्पादन दरको आधारमा प्रमुख निर्माण गतिविधिको शर्त निर्धारण सबै भन्दा ठिक मानिन्छ। कुनै क्रियाकलापलाई प्रमुख निर्माण गतिविधिको रुपमा राखि शर्त निर्धारण गर्दा सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार पारेको बोलपत्र सम्बन्धी नमूना कागजातमा देहाय बमोजिम हुनु पर्ने गरी उल्लेख गरिएको छ।
- प्रमुख क्रियाकलापको उत्पादन दर निर्धारण गर्दा ठेक्का सम्झौताको कुल अवधिको औषत दर निकाली गर्नु पर्ने।
- कुनै निश्चित अवधिमा विभिन्न ठेक्काहरूमा सम्पादित प्रमुख क्रियाकलाप वा उत्पादन दरहरू जोडी मूल्यांकन गर्न सकिने।
- स्वीकृत लागत अनुमानको दश प्रतिशत वा सो भन्दा बढी अंश भार राख्ने क्रियाकलापहरूलाई मात्र प्रमुख क्रियाकलापको रुपमा राख्नु पर्ने।
- बजारमा सजिलैसँग उपलव्ध हुने, सव-कन्ट्रयाक्टमा लगाउन मिल्ने क्रियाकलापहरूलाई प्रमुख क्रियाकलापको रुपमा राख्न नहुने।
- संयुक्त उपक्रमको रुपमा बोलपत्र पेश गर्ने प्रत्येक बोलपत्रदाताले छुट्टा छुट्टै रुपमा कुनै निश्चित अवधिमा विभिन्न ठेक्काहरूमा सम्पादित प्रमुख क्रियाकलाप वा उत्पादन दरहरू जोड्न सकिने।
उल्लेखित विषयलाई देहायको उदाहरण मार्फत बुझ्न सकिन्छ।
मानौ कुनै सडक पुल निर्माणको स्वीकृत लागत अनुमान दश करोड रुपैंयाको रहेको छ। उक्त सडक पुलको सम्झौता अवधि १८ महिनाको रहेको छ। उक्त सडक पुल निर्माणमा डण्डीको कार्य, स्टिल ट्रसको कार्य, विभिन्न ग्रेडको ढलानको कार्य, नदि नियन्त्रणका लागि ग्याबिन, मेसिनरी कार्य जस्ता विभिन्न क्रियाकलापहरू रहन सक्दछन्। अव त्यस्ता क्रियाकलापहरु मध्ये प्रमुख क्रियाकलापको कुन कुन क्रियाकलापलाई राख्ने भन्ने सवाल रहन्छ। आयोजनाको आकार तथा प्रकृतिको आधारमा M30 ग्रेड वा सो भन्दा माथिको कंक्रिट, स्टिल ट्रसको कार्यलाई प्रमुख क्रियाकलापको रुपमा समावेश गर्न सकिन्छ।
स्वीकृत लागत अनुमानः ने.रु. १०,००,००,००० (दश करोड)
उल्लेखित सडक पुल निर्माण कार्यको १८ महिनाको अवधि मान्दा प्रमुख क्रियाकलापको अनुभवको योग्यताको आधार निर्धारण गर्दा वार्षिक आवश्यक M30 ग्रेड वा सो भन्दा माथिको कंक्रिटको उत्पादन दर १०६७ घ.मि. प्रति वर्ष र स्टिल ट्रस फेब्रिकेट गरी जडान गर्ने कार्यको वार्षिक उत्पादन दर ३२००० के.जी. राख्नु पर्ने हुन्छ।
बोलपत्रदाताले पेश गरेको प्रमुख क्रियाकलापको मुल्यांकन गर्ने तरिकाः
माथि उल्लेखित आवश्यक वार्षिक उत्पादन दरका आधारमा कुनै एक बोलपत्रदाताले पेश गरेको M30 ग्रेड वा सो भन्दा माथिको कंक्रिटको योग्यता देहाय अनुसार रहेको छ।
ठेक्का/समय अवधि | ठेक्का नं. १ २०७६ आश्विन देखि २०७७ फाल्गुण | ठेक्का नं. २ २०७७ वैशाख देखि २०७८ मंसिर | ठेक्का नं. ३ २०७७ भाद्र देखि २०७८ भाद्र |
ठेक्का अवधि | १८ महिना | २० महिना | १३ महिना |
M30 ग्रेड वा सो भन्दा माथिको कंक्रिट | १२६० घ.मि. ७० घ.मि. प्रति महिना | १६०० घ.मि. ८० घ.मि. प्रति महिना | ९७५ घ.मि. ७५ घ.मि. प्रति महिना |
बोलपत्रदाताले पेश गरेको विवरणको आधारमा सार्वजनिक निकायले एक वर्षको अवधिमा सम्पादन भएको अधिकतम उत्पादन दर निकाल्नु पर्दछ। एक वर्ष अवधिको उत्पादन दर ग्राफिकल पद्धतिको सहयोगमा हिट एण्ड ट्रायल विधि मार्फत गर्दा सहज हुन्छ। जुन माथिको विवरणको आधारमा तल प्रस्तुत गरिएको छ।
बोलपत्रदाताले पेश गरेको विवरणलाई माथि उल्लेख गरे बमोजिम ग्राफिकल तरिकाले प्रस्तुत गर्न सकिन्छ। सानो एउटा कोठा (बक्स) ले एक महिनाको समय अवधि जनाउँछ भने ठूलो डट-डट बक्सले एक वर्षको समय अवधि जनाउँछ। एक वर्षको अधिकतम उत्पादन दर निकाल्न ठूलो डट-डट बक्सलाई एक-एक महिनाको अवधिमा बायाँ देखि दायाँ सार्दै हिट एण्ड ट्रायल विधि मार्फत एक वर्षको अधिकतम कारोबार निकाल्नु पर्दछ।
माथि देखाए अनुसार ठूलो बक्सलाई पहिलो स्थानमा राख्दा आउने अधिकतम वार्षिक उत्पादन दर
=७०×१२+८०×११+७५×७ =२२४५ घ.मि. प्रति वर्ष
यसै गरी हामीले ठूलो बक्सलाई माथि उल्लेख गरे बमोजिम दाँया देखि बाँया सार्दै माथि देखाए अनुसार ठूलो बक्स दोस्रो स्थानमा पुग्दा आउने अधिकतम वार्षिक उत्पादन दर
७०×७+८०×१२+७५×१२ =२४२५ घ.मि. प्रति वर्ष
यसरी हिट एण्ड ट्रायल विधि मार्फत अधिकतम वार्षिक उत्पादन दर निकाल्दा २४२५ घ.मि. प्रति वर्ष हुने देखिन्छ। जुन आवश्यक १०६७ घ.मि. प्रति वर्ष भन्दा बढी हो। यस तरिकाबाट अधिकतम वार्षिक उत्पादन दर निकाल्न सकिन्छ। उत्पादन दरको आधारमा मुल्यांकन गर्दा कुनै एक वर्षको अवधिको विभिन्न ठेक्काको उत्पादन दर जोड्न सकिन्छ भने परिमाण वा संख्या गर्दा एक वटा मात्र ठेक्काको हुने हुँदा प्रतिस्पर्धामा सीमितता आउने देखिन्छ। सार्वजनिक खरिद नियमावली, २०६४ को नियम २६ बमोजिम प्रस्तावित खरिद सम्झौतासँग मेल खाने प्रकृति, जटिलता र निर्माण प्रविधिको खरिद सम्झौता गरेको विशेष अनुभव दुई करोड रुपैंयादेखि पाँच करोड रुपैँयासम्मको खरिद कार्य भएमा लागत अनुमानको कम्तिमा चालीस प्रतिशत रकम बराबरको कम्तीमा एउटा र पाँच करोड रुपैँया भन्दा बढीको खरिद कार्य भएमा लागत अनुमानको कम्तीमा साठी प्रतिशत रकम बराबरको एउटा खरिद सम्झौता गरी कार्य सम्पन्न चाहिने हुँदा प्रमुख निर्माण गतिविधि निर्धारण गर्दा वार्षिक उत्पादन दरलाई नै आधार मान्दा सार्वजनिक खरिदको उद्देश्य अनुकूल हुन जान्छ।
मूल्य समायोजन इन्डीसेज गुणाङ्क परिधि निर्धारण
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५५ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११९ मा खरिद सम्झौतामा मूल्य समायोजनको व्यवस्था गरिएको छ। मूल्य समायोजन गर्ने विधि र प्रकृयाका सम्बन्धमा स्पष्ट कार्यविधि र निर्देशिका नहुँदा प्राय मूल्य समायोजन गर्दा अन्यौलता हुने, सार्वजनिक निकाय र निर्माण व्यवसायी बिच विवाद उत्पादन हुने, लेखापरीक्षण हुँदा बेरुजु कायम हुने तथा सुपरिवेक्षण गर्ने निकायले समेत प्रश्न उठाउने गरेका छन्। ऐ. नियमावलीमा मूल्य समायोजन गर्ने सूत्र निर्धारण गर्दा सम्पन्न भएको काममा लागेको श्रम, सामग्री र उपकरणहरुको मात्र मूल्य समायोजन हुने गरी गर्नु पर्ने व्यवस्था रहेको छ। प्रत्येक मूल्य संरचनाको मूल्य समायोजन गर्न प्रयोग गरिने सम्बद्ध मूल्य सूची (इन्डीसेज) सामान्यतया नेपाल राष्ट्र बैंकले निर्धारण गरे बमोजिमको आधारमा लिइनु पर्दछ।
मूल्य समायोजन सूत्रलाई समायोजन नहुने मूल्य र समायोजन हुने मूल्यमा विभाजन गरिएको हुन्छ। समायोजन नहुने मूल्यमा निर्माण व्यवसायीको नियन्त्रण भित्र पर्ने मूल्यहरू समावेश गरिन्छ। जुनको मूल्य सामान्यतया स्थिर किसिमको हुन्छ। समायोजन नहुने मूल्यमा अंश सामान्यतया ०.१ देखि ०.२ भित्र रहने गर्दछ। सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार पारेको नमूना बोलपत्र सम्बन्धी कागजातमा समायोजन नहुने मूल्यको अंश ०.१५ निर्धारण गरिएको छ। जुन मूल्य सूचीमा निर्माण व्यवसायीको नियन्त्रण रहँदैन, त्यस्ता मूल्यहरूलाई समायोजन हुने मूल्य भित्र राख्ने गरिन्छ। श्रम, सामग्री र उपकरणहरुको मूल्य यस भित्र पर्ने गर्दछ। जसको गुणाङ्कको जोड ०.८५ हुन आउँछ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले तयार पारेको नमूना बोलपत्र सम्बन्धी कागजात बमोजिम सार्वजनिक निकायले उक्त कागजात तयार पार्दा समायोजन हुने मूल्य सूची (इन्डीसेज) गुणाङ्कको परिधि निर्धारण गर्नु पर्ने व्यवस्था रहेको छ। यहाँ यहि गुणाङ्कको परिधि (Range) कसरी राख्ने सम्बन्धमा चर्चा गर्न खोजिएको छ। कुनै पनि निर्माण कार्य गर्दा श्रम, सामग्री र उपकरण आवश्यक रहन्छ। यस्ता मूल्य सूचीको अंश आयोजनाको प्रकृति बमोजिम फरक पर्न सक्दछ। मानौ कुनै निर्माण कार्यमा श्रम सूचीको अंश ९% छ। तर हामीले श्रमको अंश ०.२-०.२५ निर्धारण गरी मूल्य समायोजन भएको अवस्था रही श्रमको ज्याला दर बढेको खण्डमा निर्माण व्यवसायीलाई बढी भुक्तानी हुने जोखिम रहन्छ। यसकारण यस्ता विषयमा धेरै प्रश्न उठ्ने गरेका पनि छन्। त्यसकारण सार्वजनिक निकायले उचित तवरले श्रम, सामग्री र उपकरणको अंशको गुणाङ्क परिधि निर्धारण गर्नु पर्दछ।
उदाहरणको लागि कुनै निर्माण कार्यमा देहाय बमोजिमको क्रियाकलापहरू समावेश रहेका छन्। उक्त कार्यका लागि बोलपत्र सम्बन्धी कागजात तयार गर्दा तालिकामा उल्लेख गरिए बमोजिम मूल्य समायोजन इन्डीसेज गुणाङ्क परिधि (रोजगारदाताको प्रस्तावित वजनको दायरा – गुणांक) निर्धारण गर्न सकिन्छ।
निर्माण व्यवसायीले बोलपत्र पेश गर्दा सार्वजनिक निकायले दिएको परिधि भित्र रही श्रम, सामग्री र उपकरणको गुणाङ्क प्रस्ताव गर्नु पर्दछ। यदि निर्माण व्यवसायीले गुणाङ्क प्रस्ताव नगरेको खण्डमा त्यस्तो खरिद सम्झौतामा मूल्य समायोजन नगरी भुक्तानी गरिनु पर्दछ। यदि बोलपत्रदाताले पेश गरेको गुणाङ्क सार्वजनिक निकायले प्रस्ताव गरेको परिधि भन्दा बाहिर गएको अवस्थामा ठेक्का सम्झौता हुनु पूर्व त्यस सम्बन्धमा स्पष्टीकरण लिई संशोधन गर्नु पर्दछ।
गुणाङ्क परिधि भन्दा बाहिर गएको अवस्थामा संशोधन गर्ने तरिका
अन्त्यमा सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद तथा ठेक्का व्यवस्थापनको सिलसिलामा आइपर्ने विविध विषयहरू प्रमुख क्रियाकलाप निर्धारण, मूल्य समायोजन, भेरिएसन लगायतलाई सहयोग पुग्ने गरी निर्देशिका जस्ता दस्तावेज तयार पारेको खण्डमा सार्वजनिक खरिद कार्य थप प्रभावकारी भई उद्देश्य प्राप्तिमा सहयोग पुग्ने देखिन्छ।