काठमाडौँ । काँग्रेस र एमाले गठबन्धनको वर्तमान सरकारले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पारित गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पारित गर्ने निर्णय गरेको हो ।
बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गठबन्धन दलहरूको प्रतिबद्धताबमोजिम कार्यदलले तयार गरेको सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पारित गरिएको जानकारी दिए ।
काँग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिबमोजिम कार्यदलले तयार गरेर उपलब्ध गराएको सरकारको साझा संकल्प र नीतिगत प्रतिबद्धता आजको बैठकबाट पारित भएको छ, ’उनले भने ।
साझा संकल्प तयार गर्न काँग्रेसबाट महामन्त्री गगन थापा र प्रवक्ता प्रकाशसरण महत तथा एमालेबाट उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको कार्यदल गठन गरिएको थियो ।
उक्त कार्यदलले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धताहरूको मस्यौदा तयार गरी बुधबारै प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेको थियो ।