राज्यको बागडोर सम्हालिरहेको प्रशासन संयन्त्र नागरिकको आशा र भरोषाको केन्द्र थियो । यसैमा नागरिकले शासनको मुहार देख्दथे । सरकार भन्दा स्थिर, भरोसायोग्य र विश्वासिलो यसैलाई ठान्दथे । यो संयन्त्रले आजसम्मको फेहरिस्तमा नागरिकको सेवा पनि गर्यो। नागरिक अधिकारको संरक्षण पनि गर्यो। ठूला आन्दोलन, हलचल र कम्पन पनि थेग्यो ।
समयक्रमसंगै आफुलाई सुधार पनि गर्दै लग्यो। अपितु आज निजामती सेवाको गरिमा, गौरव र गर्वको घेरा साँघुरिदै गएको छ । नागरिकको आशा धर्मराएको छ। कतै गाँठो पारेर भएपनि जेनतेन सेवाको विडो धानिरहेको छ ।
विश्वमा सबै देशमा प्रशासनिक संयन्त्र छन् केही भिन्न भूमिका र जिम्मेवारी पनि। ती देशका प्रशासनमा समस्या नभएका होइनन्। तथापि केही देशले उच्च कोटीको सेवा प्रवाह गरी नागरिकको अटुट विश्वास आर्जन गरिरहेका छन्। ती देशमा कसरी सेवा प्रवाह हुन्छ ? कसरी सहज र सरल सेवा प्रदान गरी नागरिक सन्तुष्टिको स्तर उच्च हुन सकेको छ ? त्यहाँ के छ यहाँ के छैन? यी र यस्तै विषयका केही प्रासङ्गिक र उदाहरणीय कुरा अनि नागरिक अपेक्षा बुझ्न जरुरी छ।
सिद्धान्ततः नागरिक शासनका मालिक हुन् । सार्वजनिक सेवा नागरिक अधिकार र राज्यको दायित्व हो। निजामती लगायतका सरकारी सेवा तिनै मालिकको सेवा गर्न स्थापना गरिएका सेवक संरचना हुन् ।यसर्थ सेवक नागरिक खोज्दै नागरिकको बस्ती पुग्नुपर्छ न कि नागरिक सेवा खोज्दै सरकारी कार्यालयमा। यही विषयलाई मनन् गरी सार्वजनिक निकायले सेवा नागरिकको समीपमा पुर्याउनै पर्ने दायित्वबाट पन्छिन हुँदैन । निजामती सेवा राम्रो हुन यसको सेवा राम्रो हुनै पर्दछ भन्ने एकमत छ ।परन्तु, अभ्यासमा विविधता छ।
कल्पना गरौँ सबैले राम्रो भनेर प्रशंसा गर्ने सार्वजनिक सेवा कस्तो होला, हुनुपर्ला? यस्तो प्रशासन संयन्त्र जहाँ अधिकांश सरकारी सेवा अनलाइनबाट प्रवाह हुन्छ । कर्मचारीहरू कार्यालयमा मात्र बस्दैनन् ।बल्की, उनीहरू सेवाका वास्तविक स्वामी नागरिकहरू खोज्दै कम्तिमा पनि मासिक रूपमा अनिवार्य तोकिएका क्षेत्रका नागरिकका गाउँ, बस्ती, झुपडी, खेतबारी अनि बाटोघाटोमा पुगेर सार्वजनिक सेवाको बारेमा सत्य तथ्य वस्तुस्थिति बुझ्र्दछन् । तत्काल सेवा दिन सकिने सेवा तत्कालै उपलब्ध गराउँदछन्। तत्काल उपलब्ध गराउन नसकिने सेवाको हकमा आवेदन गरिदिने, कागजपत्र बनाइदिने, कुन सेवा कसरी कहाँ गएर कोसँग सम्पर्क राख्ने, के चाहिन्छ सबै कुरा खुलाएर पर्चा काटेर दिन्छन् र स्वचालित प्रणालीमा प्रविष्ट गर्दछन् ।
कार्यालयमा अनलाइनबाट सेवा लिन नसक्ने, स्थानीय स्तरमै सेवा दिन नसकिएका र तत्काल सेवा आवश्यक परेका नागरिक आउँदछन्।कार्यालयका संरचना साधारण प्रकृतिका हुन्छन्। भव्य भवनभन्दा सव्य कर्मचारी व्यवहारलाई प्राथमिकता दिइएको हुन्छ।कार्यालयमा न बाहिर न भित्र कतै पनि न भीड भाँड र लाइन हुन्छ न त कुनै मध्यस्थकर्ता। कार्यालयको मूल गेटबाट प्रवेश गरेपछि कार्यालय प्रमुखले सेवाग्राहीलाई अतिथिलाई जस्तै स्वागत गर्दछन्। विश्राम कक्षमा बसालेर सेवाको बारेमा जानकारी लिन्छन्। कार्यालय प्रमुख लगायत सबै कर्मचारीहरू राउण्ड टेबलमा बसेर स्वचालित प्रणालीमा कार्यसम्पादन गर्दछन्।सेवाग्राही फाइल बोकेर कहीँ जानु पर्दैन।कसैलाई जी हजुरी र बिन्ती भाउ चढाउनु पर्दैन।कुनै हैरानी व्यहोर्नु पर्दैन। एकै स्थानबाट कार्यालय प्रमुखले सेवा प्रदान गर्दछन्।सेवाग्राहीले प्राप्त गरेको सेवाको मूल्याङ्कन गर्दछन्। कार्यालय प्रमुखले फेरी सेवा गर्न पाइयोस् भनेर कामना गर्दै सेवाग्राहीलाई बिदाइ गर्दछन्। सेवाग्राहीले गरेको मूल्याङ्कन कार्यालयको प्रमुख सूचक, मानक र साखको रूपमा प्रणालीमा दर्ज हुन्छ।
डाक्टरहरू नागरिकका घरदैलोमा पुगेर सुदमयका सबै नागरिकको स्वास्थ्य अवस्था तथा समस्या बुझ्दछन्। नागरिकको सामान्य जाँच गर्दछन्। थप उपचार गर्नुपर्ने भएमा अस्पतालमा आउन मिति, समय, स्थान र सम्पर्क राख्नुपर्ने कर्मचारी समेतको विवरण लेखेर पर्चा काटेर दिन्छन्। अस्पतालमा इमर्जेन्सी बिरामी परेका तथा पहिले नै डाक्टरले भेटेर पर्चा काटेका तथा सिफारिस भएका बिरामीको उपचार हुन्छ । सबै सिफारिस स्वचालित प्रणालीमा हुन्छ । अत्यावश्यक अवस्थामा बाहेक सबै सेवा स्वचालित प्रणाली बमोजिम पालो अनुसार हुन्छ । डाक्टरहरू आफ्नो क्षेत्रभित्रको समुदायका नागरिकको स्वास्थ्यप्रति जिम्मेवार हुन्छन्।
शिक्षकहरू स्थानीय अभिभावकहरूसँग अन्तरक्रिया गरेर बालबालिकाको अध्ययनको अवस्था, शिक्षाबाट वञ्चित रहेका, अध्ययनमा देखिएका समस्या बुझेर सबै बालबालिकालाई निःशुल्क र अनिवार्य शिक्षाको हक सुनिश्चित गराउन तल्लीन रहन्छन्।इन्जिनियरहरू आफ्नो कार्यक्षेत्रमा निर्माण हुँदै गरेका सामाजिक तथा भौतिक पूर्वाधारहरू सडक, पुल पुलेसा तथा विकास निर्माणका काममा आफै खट्दछन्।आफ्नो प्रत्यक्ष निगरानीमा निर्माण कार्य गराउँदछन्। कृषि प्राविधिकहरू किसानका गोठ तथा खेतबारीमा उपस्थित भई कृषि बाली तथा पशुधनको स्वास्थ्य, गुणस्तरीय उत्पादन, उत्पादकत्व अभिवृद्धिमा क्रियाशील हुन्छन्। कृषकका सहयोगी बन्दछन्। परामर्श र प्राविधिक सेवा उपलब्ध गराउँदछन्।उक्त विवरण प्रणालीमा प्रविष्ट गर्दछन् र नियामक निकायबाट निगरानी तथा चेकजाँच हुन्छ।
कर्मचारीहरू गाउँ वस्तिमा विकास तथा सेवा प्रवाहको अवस्था कस्तो छ ? थप कस्तो कलकारखाना, उद्योग, सेवा आवश्यक छ? आदि विषयमा स्थानीयहरूसँग साक्षात्कार गर्दछन्। त्यस्ता विषयमा स्थानीय समुदायको निर्णय बमोजिम स्थानीय निकायसमेतबाट स्वचालित प्रणालीमा प्रविष्ट हुन्छ । उक्त विषयमा विभिन्न तहमा छलफल तथा परामर्श गरी एकीकृत रूपमा आवश्यक विषयमा सरकारबाट निर्णय तथा बजेट व्यवस्थापन भई कार्यान्वयन हुन्छ ।
कार्यालयको काम स्वचालित प्रणालीबाट हुन्छ । देशमा जति पनि नीति, नियम, कानुन छन्। ती सबै स्वचालित प्रणालीमा प्रविष्ट हुन्छन्। कुनै नयाँ नीति, कानुन तर्जुमा भएमा र अदालत तथा न्यायिक निकायबाट फैसला भएमा ती समेत प्रणालीमा प्रविष्ट हुन्छन्। कुनै विषयमा काम कारबाही गर्दा सोसँग सम्बन्धित प्रचलित नीति, नियम, कानुन तथा न्यायिक निकायका फैसला समेतका व्यवस्था प्रणालीमा डिस्प्ले हुन्छ।ती व्यवस्था बमोजिमका प्रक्रिया पुरा गरेपछि मात्र प्रणालीबाट सेवा प्रवाहको काम कारबाही अगाडि बढाउन सकिन्छ।कुनै विषय नपुग भएमा वा नमिलेमा प्रणालीबाट अगाडि बढ्न मिल्दैन। जस्तोसुकै भनसुन वा शक्तिको पनि केही लाग्दैन निरीह साबित हुन्छन्।
यदि कुनै विषय विद्यमान व्यवस्थाबाट कार्यान्वयन गर्न कठिनाइ भएमा वा भइरहेको व्यवस्था अनुसार काम कारबाही हुँदा नागरिकलाई अन्याय हुने तथा गलत हुने अवस्था देखिएमा समस्या देखिएको निकायबाट स्पष्ट राय लेखि माथिल्लो निकायको सिफारिसको आधारमा सम्बन्धित मन्त्रालयबाट वा नीतिगत विषयमा मन्त्रिपरिषदबाट निर्णय गरी तत्काल प्रणालीमा आइपर्ने समस्याको प्रणालीभित्रै रहेर समाधान गरिन्छ । यसरी काम गर्दा न कर्मचारी न सेवाग्राहीले कानुन के छ ? के चाहिन्छ? भनेर बहाना गर्ने छुट हुँदैन र प्रचलित व्यवस्था भन्दा बाहिर गएर कुनै कर्मचारीले काम गर्न खोजे पनि स्वचालित प्रणालीबाट अगाडि बढ्न नै मिल्दैन ।
उक्त प्रणालीबाट काम गर्दा तत्कालका लागि मात्र होइन भावी दिनका काम समेत पहिले नै तय गरी पूर्वानुमानित सेवा पनि प्रवाह हुन्छ । जस्तै स्थानीय कार्यालय तथा फिल्डमा खटिने कर्मचारीहरूबाट समेतले स्थानीय नागरिकहरूको विवरण नियमित सङ्कलन गर्दछन्। कुन नागरिक कहिले नागरिकता प्राप्त गर्न योग्य हुन्छन् वा उमेर पुग्दछ सोको विवरण पहिले नै कर्मचारीबाट सङ्कलन हुन्छ । सम्बन्धित स्थानीय तह समेतबाट सिफारिस तथा कागजातहरू तयार गर्दछन्। सम्बन्धित निकायबाट नागरिकताको प्रमाणपत्र प्राप्त गर्नका लागि योग्य हुने वा उमेर पुगेको दिनमा उक्त प्रमाणपत्र प्रदान गर्ने गरी स्वीकृति प्रदान गर्दछन्।त्यस्ता नागरिकको नागरिकता प्राप्त गर्ने उमेर पुगेको दिन मात्र प्रणालीबाट नागरिकताको प्रमाणपत्र बन्दछ। स्थानीय कर्मचारीले नागरिकको घरमा गएर जन्मदिनमा शुभकामना तथा बधाईसहित नागरिकताको प्रमाणपत्र उपलब्ध गराउँदछन्।
लोक सेवा आयोगले सबै क्षेत्रका कर्मचारीहरूको सर्वोच्च पदमा समेत उपयुक्त उम्मेदवार छनौट गरी सिफारिस गर्दछ । आयोग कर्मचारी छनौटमा मात्र योग्यता प्रणालीको संरक्षण होइन कर्मचारीहरूले खाएको शपथ तथा प्रचलित कार्यसम्पादनको इमान्दारिता, निष्पक्षता र क्षमतामा पनि निश्चित अन्तरालमा मूल्याङ्कन गर्दछ ।
कर्मचारीको सरुवा तथा तालिम, अध्ययन तथा भ्रमण समेतको लागि मापदण्ड अनुसार स्वचालित प्रणालीबाट व्यवस्थापन हुन्छ । कुन कर्मचारी कहाँ सरुवाका लागि योग्य छ, तालिमका लागि कसको कहिले पालो आउँछ आदि सबै कुरा प्रणालीबाट थाहा हुन्छ। विशिष्ट कर्मचारीहरूको कम्तिमा १ वर्ष र अन्य कर्मचारीहरूको हकमा न्यूनतम २ वर्ष नभई सरुवाको लागि आवेदन गर्नै नमिल्ने, दुर्गममा काम गरेको, सम्बन्धित क्षेत्रमा काम गरेको, पछाडि परेको वर्ग र क्षेत्रका कर्मचारीलाई प्राथमिकता दिने समेतको मापदण्ड हुन्छ। प्रणालीबाटै तालिम र सरुवाको लागि आवेदन गर्नुपर्दछ र प्रणालीमै छनौट तथा सिफारिसको पत्र प्राप्त हुन्छ।तर मापदण्डमा नपरेको कुनै पनि कर्मचारीले सरुवा वा तालिमका लागि प्रणालीमा आवेदन नै गर्न मिल्दैन। आवेदन गर्न खोजे तपाई आवेदनका लागि योग्य हुनुहुन्न भनेर म्यासेज दिन्छ।प्रणालीले कसैको पनि शक्ति र पहुँच चिन्दैन।चिन्दछ त केबल कर्मचारीको डाटाबेस र मापदण्ड मात्र।
सबै कुरा स्वचालित प्रणालीमा हुने कसले के कति काम गर्यो, कसले कार्यसम्पादन गर्न कति समय लगायो लगायतका सबै विवरण प्रणालीमा रियल टाइम डाटा तयार हुन्छ। दूधको दूध पानीको पानी जस्तै छर्लङ्ग हुन्छ । कसैले पनि बहुभेद र छदम रूप देखाउन सक्दैनन् । कामबाट नै सरुवा र अवसर तथा सुविधासमेत निर्धारण हुने हुँदा सबै कर्मचारी काममा प्रतिबद्ध हुन्छन्। न त सेवा प्रदान गर्दा भेदभाव हुन्छ न त कर्मचारीका अवसर र सुविधामा । यस्तो प्रणाली जसले न त कसैलाई छुटाउँदछ न त कसैलाई कुनै भेदभाव हुने ठाउँ राख्दैन (सामान्य नागरिकदेखि राष्ट्र प्रमुख सबैका लागि एउटै प्रक्रिया पुरा गर्नुपर्ने) र छुट (विद्यमान प्रावधानभन्दा बाहिर जान, तलमाथि गर्न र हात लामो गर्नसमेत) पनि दिँदैन। कसैले कसैलाई दोष देखाएर सुशासनको उद्घोष गर्ने र नागरिकले सबैलाई गलत देख्ने भाष्य सिर्जना हुँदैन । यस्तो प्रणालीबाट दिइने सेवाबाट नागरिक सन्तुष्टिको ग्राफ उकालो लाग्दै सेवालाई एक आदर्श र उच्च कोटीको मार्गतर्फ डोर्याउदछ।
हाम्रो समग्र प्रशासन संयन्त्र पनि यस्तै परिकल्पनाको जस्तो बनाउन एउटा मजबुत स्वचालित प्रणालीको पर्खाइमा छ । हामीकहाँ पनि यस्तै प्रणालीको आवश्यकता छ। यो प्रणाली निर्माणको सुरुवातकर्ता आम कर्मचारी, उच्चपदस्थ नेतृत्व, प्रशासकहरू नै हुनुपर्दछ र कहिले होइन आजै र अहिलेदेखि नै शुरु गरिनु पर्दछ। तब हाम्रो प्रशासन तथा सेवा प्रवाहमा आमूल परिवर्तन अवश्य आउनेछ। नागरिकको टुटेको विश्वास आर्जन हुनेछ। एउटा गौरवान्वित र गर्विलो सेवा पुनर्जागृत हुनेछ।
जय निजामती सेवा ।