काठमाडौँ । सवारी दुर्घटना बढी हुने जिल्लाको सूचीमा उपल्लो स्थानमा रहेको चितवनमा चालु आर्थिक वर्षको डेढ महिनाको अवधिमा १२ जनाको मृत्यु भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार साउन महिनामा १० जना र भदौ १० गतेसम्ममा २ जना गरी १२ जनाको मृत्यु भएको हो । चितवनमा साउनमा २८ वटा र भदौको १० गतेसम्म ८ वटा दुर्घटना भएका छन् । मृत्यु हुनेमा १० पुरुष र २ महिला छन् ।
ट्राफिक प्रहरीका अनुसार पूर्व-पश्चिम राजमार्गमा भएका दुर्घटनामा २ जना, नारायणगढ-मुग्लिन सडक-खण्डमा ४ जना, शहरी सडक खण्डमा १ जना र भित्री सडकमा ५ जनाको मृत्यु भएको छ । गत वर्ष यो अवधिमा साउनमा ४ जना र भदौमा ६ जना गरी १० जनाको मृत्यु भएको थियो ।
यस वर्षको यही अवधिमा पृथ्वी राजमार्गमा भने कुनै पनि सवारी दुर्घटना नभएको चितवन प्रहरीले जनाएको छ । सबैभन्दा धेरै घाइते मुग्लिन-नारायणगढ सडक खण्डमा ७२ जना भएका छन् ।
डेढ महिनाको अवधिमा प्रहरीले ट्राफिक नियम उल्लंघनकर्ताबाट ७५ लाख ३१ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।
गत आर्थिक वर्षमा जिल्लामा भएका ४४५ सवारी दुर्घटनामा परेर ११५ जनाले ज्यान गुमाएका थिए भने, १५० जना गम्भीर घाइते र ६८२ जना सामान्य घाइते भएका थिए ।
अघिल्लो बर्ष सवारी दुर्घटनामा ४४.३ प्रतिशतले कमी आएको भए पनि गत आर्थिक वर्ष सवारी दुर्घटनाको संख्या ह्वात्तै बढेको थियो । अघिल्लो आर्थिक वर्ष सवारी दुर्घटनामा ७८ जनाको मृत्यु भएको थियो ।
आर्थिक वर्ष २०८०/०८१ मा ४४५, आ.ब.२०७९/०८० मा ३०३, आ.व. २०७८/०७९ मा ५३० वटा सवारी दुर्घटना भएका थिए ।







