काठमाडौँ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालकले ज्यान गुमाएको घटनाबारे छानबिन गर्न बनेको समितिको म्याद तीन दिन थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला नेतृत्वको छानबिन समितिलाई तीन दिनको म्याद थप गरिएको हो ।
निरौलाको समितिलाई एक साताको म्याद दिएर घटनाको छानबिन गरेर प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको थियो । समितिको म्याद आइतबार सकिए पनि छानबिन र प्रतिवेदन लेखनको काम बाँकी नै रहेकाले तीन दिन म्याद थप गरिएको छ ।
समितिका संयोजक निरौलाले छानबिन टुंगिन बाँकी नै रहेकाले तीन दिन म्याद थप भएको र छानबिनको काम अन्त्यतिर पुगेको बताएका छन् ।
ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-४ छहरे घर भई काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो । ट्रकका चालक सर्लाही मलंगवा नगरपालिका-२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।