काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिनिधि सभा सार्वजनिक लेखा समितिको सभापति फेर्ने माओवादी र रास्वपाको मागको प्रतिवाद गर्दै फेर्ने भए राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख पनि फेर्न चुनौती दिएका छन् ।
समितिको आइतवारको बैठकमा माओवादी र रास्वपाका सांसदले विपक्षीलाई समितिको सभापति दिनुपर्ने भनेर पटक-पटक माग गरेपछि बास्कोटाले कडा प्रतिवाद गरेका हुन् ।
उनले विगतमा माओवादी सत्तापक्षमा रहँदा जनार्दन शर्मा सभापति रहेको उदाहरण दिँदै वर्तमान सभापति ऋषिकेश पोखरेलमाथि पटक-पटक हमला नगर्न चेतावनी दिए ।
बास्कोटाले भन, ‘यहाँ बारम्बार यस्ता कुरा नल्याउनुस् । समितिको सभापति फेर्ने हो भने राष्ट्रिय सभाको अध्यक्ष फेरौँ, उपसभामुख पनि फेरौँ अनि यहाँ पनि फेरौँ । राजनीतिक सहमति गरेर आउनुस्, यहाँ कराउने होइन । होइन सबै सबै समितिमा निर्वाचन गरौँ, यहाँ मसला बनाउने काम छैन । घण्टा घण्टामा राजनीतिक समीकरण फेरिने देश हो, यहाँ के का कुरा ।’
बास्कोटाले आफूलाई लोकरिझ्याइँको मतलब नभएको र फेसबुके तथा युट्युबेले खेद्लान् भन्ने डर पनि नरहेको भन्दै भाइरल रोग समितिमा नभित्र्याउन चेतावनी समेत दिए । उनले अमनलाल मोदी, हरि ढकाललगायतका माओवादी र रास्वपाका सांसदलाई जवाफ दिएका हुन् ।