काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनामा घाइते यात्रुलाई भेट्न र शव लिन भारतकी एक राज्यमन्त्री नेपाल आउने भएकी छन् ।
घाइते भएका आफ्ना नागरिकलाई भेट्न र शव लिनका लागि भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडेस नेपाल आउन लागेकी हुन् ।
मृतकको शव चितवनको भरतपुर अस्पतालमा परीक्षण गरिंदैछ । आज दिउँसो १२ बजेसम्म परीक्षण सकेर सम्बन्धित पक्षलाई बुझाउने तयारी छ ।
शुक्रबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।