काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु रोकथाम र नियन्त्रणका लागि कार्यालय सरसफाइ अभियान सुरु गरेको छ ।
स्वस्थ नेपाल र निरोगी नेपालीका लागि हप्ताको एक दिन कार्यालय-घर सरसफाइ अभियान शुरु गरेको हो । निरोगी नेपाल बनाउने संकल्प पूरा गर्नका लागि मन्त्रालयले हरेक हप्ताको एक दिन शुक्रवार घर-कार्यालय सरसफाइ गर्न एक घण्टाको समय छुट्याउन आम नागरिकसँग समेत आग्रह गरेको हो ।
शुक्रवार एक घण्टाको समय स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसहित मन्त्रालयका कर्मचारीहरू मिलेर मन्त्रालय सरसफाइमा जुटेका थिए । मन्त्रालयबाट शुरु गरिएको अभियान शहर हुँदै गाउँसम्म नै पुग्ने र यसले भविष्यका लागि समेत स्वस्थ रहन मद्दत पुर्याउने लक्ष्य मन्त्रालयको छ ।
अभियानका बारेमा जानकारी दिँदै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले विगतका वर्षहरूलाई हेर्दा यस वर्ष सङ्ख्यात्मक रूपमा डेंगुको संख्या कम देखिए पनि जोखिम भदौ र असोज महिनामा बढी हुने भएकाले सरसफाइ अभियान शुरु गरेको बताए । उनले डेंगुको नियन्त्रण र न्यूनीकरणका लागि गत हप्तादेखि नै संघीय मन्त्रालय र मातहत रहेका कार्यालयमा शुक्रवार सरसफाइ अभियान शुरु गरेको बताए।







