काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टी नेतृत्वको वरिपरिबाट आफूलाई पार्टी फुटाउँदैछ भनेर आरोप लगाइएको बताएका छन् ।
नेकपा माओवादी काठमाडौँ-रुकुम पश्चिम सम्पर्क समितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले नेतृत्वकै वरिपरिबाट आफूले पार्टी फुटाउँदैछ भनेर आरोप लगाइएको बताए ।
उनले अध्यक्ष ‘प्रचण्ड’ सामु भने, ‘तपाईँहरूले मलाई दलाल जस्तो देख्नुहुन्छ ? म यो पार्टी फोर्ने जस्तो देख्नुहुन्छ ? तर, त्यो आरोप मैले आज खेपिरहेको छु । पार्टीको उच्च तह र नेतृत्वको वरिपरिबाट देशभरि मैले पार्टी फुटाउँदैछ भनेर बदनाम गरिँदैछ ।’
नेता शर्माले आफूलाई मनोगत ढंगले आरोपित गरेर सत्यलाई उल्ट्याउने प्रयत्न गरेको बताए ।
उनले आफूले गरेको प्रश्नमा कुनै पूर्वाग्रह नभएको बताए । आफूलाई पार्टी बनाउने हुटहुटी रहेको बताउँदै नेता शर्माले पार्टीमा इमानदार बन्न पाइँदैन भनेर प्रश्न गरे ।







