काठमाडौँ । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रम रोकेको भन्दै विभिन्न विद्यार्थी संगठन संयुक्त रूपमा विरोध जनाएका छन् ।
अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल समाजवादी, समाजवादी विद्यार्थी युनियन, नेपाल समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँ र अखिल नेपाल विद्यार्थी युनियनले सोमबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको कदमप्रति आपत्ति जनाएका हुन् ।
उनीहरूले ०८१ साउन २२ गतेदेखि देशव्यापी त्रिविका आंगिक क्याम्पसमा विरोध ब्यानर राख्ने, २३ गते त्रिविका पदाधिकारीहरूसँग छलफल र ध्यानाकर्षण गर्ने, २८ गते संयुक्त अन्तरक्रिया गर्ने जनाएका छन् ।
कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले साउन १५ गते त्रिभुवन विश्वविद्यालय सभामा उपकुलपति प्राडा केशरजंग बराललाई नीति तथा कार्यक्रम पेस गर्न रोक लगाएका थिए । प्रधानमन्त्री ओलीले ग्रेस लिस्टको विवरण स्वीकृत गर्ने र बजेटमाथि मात्र छलफल हुने निर्देशन दिएपछि मंगलबारको सभामा नीति तथा कार्यक्रम बिनै बजेट प्रस्तुत भएको थियो ।
उपकुलपति प्रा. डा. बरालले नीति तथा कार्यक्रम प्रस्तुत नगरेपछि रजिस्ट्रार प्रा. डा. केदारप्रसाद रिजालले २६ अर्ब १६ करोड ८७ लाख ३५ हजार रुपैयाँको बजेट गरेका थिए ।
योसँगै विश्वविद्यालय सभामा पहिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र त्यसपछि मात्र बजेटबारे छलफल हुने परम्परा तोडिएको थियो । यही कदमप्रति विद्यार्थी संगठनले संयुक्त रूपमा विरोध कार्यक्रम घोषणा गरेका हुन् ।
‘नयाँ पदाधिकारीहरूको नियुक्ति सँगै विश्वविद्यालय सुधारको उत्कट चाहना बोकेका लाखौँ विद्यार्थीहरू र समग्र जनताको मनोभावनामा यस कदमले विश्वविद्यालय राजनीतिक हस्तक्षेप गर्ने घृणित पुरानो खेल दोहोरिएको आभास भएको छ’, विज्ञप्तिमा भनिएको छ ।