काठमाडौँ । दर्शन बचत तथा ऋण सहकारीले बचतकर्ताहरूको रकम अझै फिर्ता गरेको छैन । सहकारीले रकम फिर्ता नगरेपछि बचतकर्ताहरू न्यायका लागि भौतारिन थालेका छन् । उनीहरूले प्रधानमन्त्रीसमक्ष उक्त रकम फर्काएर हिनामिना गर्ने पदाधिकारीलाई कारबाहीको दायरामा ल्याउन मागसमेत गरेका छन् ।
कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संघर्ष समितिका अध्यक्ष कञ्चन महर्जनका अनुसार दुई वर्षदेखि पैसा फिर्ता दिने भन्दै सहकारीले झुल्याइरहेको छ । सहकारीमा १४ हजार बचतकर्ताको करिब साढे ५ अर्ब बचत रहेको उनले बताए ।
सहकारीले ५० लाख मासिक फिर्ता गर्ने र अपुग भएको बचत रकमको सहकारीको नाममा भएको जग्गा दिने सहमति गरेको थियो । तर, सहमति गरेपछि पनि सहकारीले मासिक दिने भनेको ५० लाख र जग्गा दिएको छैन । पैसा फिर्ता गुनको सट्टा अध्यक्ष धारीले आफूहरूलाई थर्काउन थालेको उनको भनाइ छ ।
पदाधिकारी, सञ्चालक तथा सीईओको मिलेमतोमा रकम घोटाला भएको बचतकर्ताको भनाइ छ । पीडितहरूले बचत फिर्ताको माग लिएर बागमती प्रदेश मन्त्रालयको सहकारी महाशाखामा पनि लिखित निवेदन दिएका छन् ।
यस्तै बचतकर्ताले अध्यक्ष धारीको घरमा गएर आत्मदाहको समेत प्रयास गरेको भन्दै पीडितहरूले प्रधानमन्त्रीसमक्ष पीडा समेत पोखेका छन् ।
पीडितहरूले प्रधानमन्त्रीलाई दिएको निवेदन


बचत फिर्ता गर्न र ऋण विवरण देखाउन गरेका लिखित प्रतिबद्धता



