काठमाडौँ । सभामुख देवराज घिमिरेले विचाराधीन विधेयकको विषयमा संसदीय समितिका सभापतिहरूसँग छलफल गरेका छन् । संसद बिजनेसविहीन भएपछि सभामुख घिमिरेले सभापतिहरूलाई आफ्नो कार्यकक्षमा बोलाएर छलफल गरेका हुन् ।
संसद प्रभावकारी बनाउन संसदीय समितिको सक्रियतामा निर्भर रहने बताउँदै उनले संसदीय समितिको सक्रियता सभापतिको भूमिकामा निर्भर हुने बताए ।
उनले भने, ‘अहिले संसदमा विधेयक छैन । त्यो भनेको खास बिजनेस छैन । बिजनेस नभएपछि संसद चलाउन सकिँदैन । संसद्लाई बिजनेस दिने वातावरण तयार गर्नुहोस् । समिति सञ्चालनका लागि आवश्यक पूर्वाधार, व्यवस्थापकीय सहयोग गर्न संसद सचिवालय तयार छ । समितिमा विचाराधीन रहेका विधेयकहरू टुंगोमा लगाउन विशेष तदारुकता देखाउनुहोस् ।’
छलफलमा सभापतिहरूले तीन दिन संसद, तीन दिन समितिको बैठक सञ्चालन गर्ने पूर्वनिर्णय प्रभावकारी हुन नसकेको काँग्रेस सांसद रामहरि खतिवडाले बताए ।
उनले भने, ‘संसद सकिने बित्तिकै सांसदहरु गृह जिल्ला जाने हुँदा समितिको बैठक बस्न सकेन । अब एक दिन संसद, एक दिन समिति चलाउने व्यवस्था मिलाउनुपर्यो । समितिमा धेरै विधेयक छन्, तर जटिल प्रकृतिका छन् । कतिपय विधेयकमा राजनीतिक समिति चाहिएको छ । सभामुखबाट सहजीकरण हुने अपेक्षा गर्दछु ।’
सांसद विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक टुंगोमा लाग्ने तयारी रहेको बताइन् । एकदुई विषयमा राजनीतिक सहमति भए टुंगिने उनको भनाइ छ ।
सांसद अम्मरबहादुर थापाले शिक्षा विधेयकमा धेरै संशोधन भएको बताउँदै टुंगोमा पु¥याउन जनशक्तिको अभाव भएको बताए ।
बैठकमा सभापतिहरु रामहरि खतिवडा, विमला सुवेदी, अम्मरबहादुर थापा, अब्दुल खान, किरणकुमार साह, दीपकबहादुर सिंह सहभागी थिए ।