काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शान्ति प्रक्रियाका बाँकी कामहरू टुङ्ग्याउँदा पीडितमैत्री हुनुपर्ने बताएका छन् ।
बुधवार ललितपुरमा प्रकाश काफ्लेको ३२ औँ स्मृति दिवस एवं ३० औँ प्रकाश मानव अधिकार पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पौडेलले शान्ति प्रक्रियाका बाँकी काम छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्ने बताए ।
उनले अझैपनि द्वन्द्वका घाउहरू नमेटिएको भन्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काम बाँकी रहेको बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा सबैको काँधमा रहेको उल्लेख गर्दै यसमा सरकार, राजनीतिक दलहरू, मानवअधिकारकर्मी, आम नागरिकहरूको काँधमा रहेको बताए ।
उनले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउँदा पीडितको पक्षपोषण हुने गरी टुङ्ग्याउनुपर्नेमा आफू स्पष्ट रहेको बताए । उनले भने, ‘नेपालले एउटा अनपेक्षित, अनावश्यक, अनुचित र एक ढंगले भन्दा नेपाली समाजको निम्ति बोझको रूपमा सम्झना भइरहने कहालीलाग्दो द्वन्द्वबाट नेपाली समाज गुज्रियो । त्यो द्वन्द्वबाट हामी नेपालीहरूले बडो मेहनतका साथ नेपाली समाजलाई द्वन्द्वबाट, हिंसाबाट शान्तिमा रूपान्तरण गरेका छौँ । हिंसा र द्वन्द्वको अन्त्य भएको छ भने शान्तिको स्थापना भएको छ । तर अझैपनि द्वन्द्वका घाउहरू मेटिएका छैनन् । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने काम बाँकी छ । केही कामहरू अझै पनि बाँकी छन् । शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा हामी सबैको काँधमा छ । सरकार, राजनीतिक दलहरूको काँधमा छ । मानवअधिकार कर्मीहरूको काँधमा छ । आम नागरिकहरूको काँधमा छ । शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने सिलसिलामा हाम्रा निष्कर्षहरू पीडितमैत्री हुनुपर्छ । पीडितको पक्षमा हुनुपर्छ ।’
उपप्रधानमन्त्री पौडेलले मानव अधिकार आन्दोलन निरन्तर जारी रहने बताए । उनले परिस्थितिअनुकुल मानव अधिकारका एजेन्डाहरूलाई अघि बढाउने बताए ।