काठमाडौँ। निर्वाचन आयोगको आयुक्तमा नियुक्तिका लागि सिफारिस भएका कृष्णमान प्रधानबारे निर्णय गर्न बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक सरेको छ।
सोमबार बिहान ११:३० बजे बस्ने गरी तय भएको बैठक सोमबार अपराह्न ५ बजेसम्मका लागि स्थगित गरिएको हो।
प्रधानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको संवैधानिक परिषद्को गत असार २ को बैठकले आयुक्तमा सिफारिस गरेको थियो। प्रधानविरुद्ध आफ्नै कार्यालयमा कार्यरत महिलामाथि सन् २०१७ देखि २०२२ सम्म लगातार यौन हिंसा गरेको एउटै विषयका चार वटा उजुरी परेका थिए।
समितिले असार १९ गते पीडित महिलालाई नै बोलाएर उजुरी र घटनाको बारेमा सोधपुछ गरेको थियो। पीडित महिलाले आफूमाथि प्रधानले यौन दुराचार गरेको प्रमाणसहित भनाइ राखेकी थिइन्। पीडितको बयानपछि प्रधानले आफ्नो चरित्रमाथि प्रश्न गर्ने जवाफ संसदीय समितिलाई नरहेको जवाफ दिएका थिए।