कुनै बेला असाध्यै आकर्षण र शानको जागिर मानिने प्रहरी सेवा अहिले आकर्षण बन्न छाडेको छ । बरु प्रहरी सेवामै रहेकाहरूले पनि धमाधम राजीनामा दिइरहेका छन्, किन ?
काठमाडौँ । कुनै बेला नेपाल प्रहरीमा भर्ना हुनु, प्रहरी बर्दी लगाएर जागिर खानु असाध्यै शानको कुरा थियो । जोकोही यसका लागि लालयित हुन्थे । अलि पढेलेखेकाहरू अधिकृत तहबाटै प्रहरी सेवामा प्रवेश गर्थे । औपचारिक शैक्षिक योग्यता धेरै नभएकाहरू पनि प्रहरी जवानबाट यो सेवामा प्रवेश गर्थे ।
१०० जनाको दरबन्दीमा भर्ना खोल्यो भने १० हजारभन्दा धेरैले आवेदन गर्थे जसले प्रहरीमा भर्ना हुन कस्तो क्रेज छ भन्ने देखाउँथ्यो । तर समय सधैँ त्यस्तो रहेन । अहिले प्रहरीको जागिर छोड्नेहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । किन भन्ने ठ्याक्कै उत्तर पाउन त गाह्रो छ, तर यो संख्या क्रमशः बढिरहेको छ ।
जस्तो, दैलेखका सूर्य थापा । प्रहरीको जागिर छाड्ने निधो गरेका थापा यस्तो पात्र हुन् जो जागिर खाएको लामो समय नहुँदै प्रहरीबाट अलग्गिने निधोमा पुगे । २०७६ असार ११ गते प्रहरी सहायक निरीक्षक (असई) पदबाट प्रहरी सेवा प्रवेश गरेका थापाले तालिममा बिताएको अवधिलाई समेत गणना गर्ने हो भने दुई वर्ष पनि नपुग्दै प्रहरी सेवा छाडेका हुन् ।
किन त ? उनले भने, ‘कहीँ उदाउन कहीँ अस्ताउनै पर्छ, प्रहरी जागिरमा दुःख धेरै हुने, न्यून पारिश्रमिक र सेवा सुविधा, स्पष्ट वृत्ति विकास प्रणालीको अभाव, पदोन्नतिमा ढिलाइ, कामको उच्च तनाव हुने, पारिवारिक रूपमा समय दिन नपाइने, बिदाको समस्या अलि बढी नै छ ।’
थापाले सानैदेखि बैंकमा जागिर गर्ने रहर बोकेका थिए । पारिवारिक आर्थिक अवस्था, देशको विद्यमान बेरोजगारी समस्याका कारण सरकारी जागिर खानुपर्छ भन्ने कुरा हाबी बन्दा प्रहरी सेवामा जोडिएको उनले बताए । तर त्यसमा लामो समय टिक्नै सकेनन् । प्रहरी सेवा छाडेर बैंकतर्फ मोडिएका उनी अहिले नेपाल वैंक लिमिटेड, कीर्तिपुरमा कार्यरत छन् । त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन संकायमा स्नातकोत्तर अध्ययनसमेत गरिरहेका थापा बैंकिङ सेवामै सन्तुष्टि मिलेको बताउँछन् ।
थापा जस्ता धेरै जना छन् । नेपाल प्रहरीको तथ्याङ्क हेर्ने हो भने हरेक वर्ष जागिर छाड्नेहरूको संख्या बढेको देखिन्छ । नेपाल प्रहरीले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्रै ७९२ जनाले अवधि नसकिँदै राजीनामा दिएका छन् ।
यसअघिका वर्षको अभिलेख हेर्दा पनि राजीनामा दिने क्रम बर्सेनि बढ्दो छ । दर्जागत रूपमा धेरैजसो जवान, हवल्दार र असईले राजीनामा दिएको देखिन्छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार गत आर्थिक वर्षमा १२ जना सिनियर प्रहरी अधिकृत (प्रहरी निरीक्षकदेखि माथि) ले राजीनामा दिएका छन् । जुनियर प्रहरी अधिकृत (असई र सई) दर्जाका २३५ र तल्लो तह (कार्यालय सहयोगी र जवान) ५४५ जनाले राजीनामा दिएका छन् ।

गत आर्थिक वर्षमा मात्र राजीनामा दिने कूल प्रहरीको संख्या ७९२ रहेकोमा सोही वर्ष थप ५४४ जनाले अनिवार्य अवकाश पाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अर्थात् अवकाश पाउने भन्दा राजीनामा दिनेको संख्या २४८ ले बढी छ ।
प्रहरीमा आर्थिक वर्ष २०७९/८० मा ६३३ जनाले राजीनामा दिएका थिए । त्यसभन्दा अघिल्लो वर्ष, २०७८/७९ मा ४९९ जनाले राजीनामा दिएका थिए । यसले राजीनामा दिनेको संख्या बढिरहेको देखाउँछ ।
प्रहरी सेवामा जागिरप्रति आकर्षण नै नभएको भने होइन । २० वर्षको उमेरमा २०७६ असार ११ गते असई पदमा नियुक्ति लिएका सल्यानका राजेश केसी अहिले प्रहरीको लेखा शाखामा काम गरिरहेका छन् ।
२० वर्षको रमाउने उमेरमा बर्दी सहितको नागरिक बन्न, जिम्मेवारीको भारी बोक्न र देशभक्तिलाई मूल मन्त्र बनाउन अघि सरेका उनी सजिलो भने नभएको बताउँछन् । भन्छन्, ‘प्रहरी सेवा आफैमा सेवामूलक र चुनौतीपूर्ण संस्था हो । प्रहरी सेवामा उच्च अनुशासन, कामप्रति इमान्दारिता र न्यून पारिश्रमिक जस्ता सेवा सुविधामा समेत रमाएर काम गर्न सक्नुपर्छ । ’
प्रहरी सेवामा जोडिएपछि धेरै कुरा सिक्ने अवसर पाएको उनको अनुभव छ । यो क्रममा आफू रूपान्तरित मान्छे बनेको समेत उनले सुनाए । केसीका अनुसार जीवनलाई हेर्ने दृष्टिकोण बदलिएको छ । स्वेच्छाले ग्रहण गरेको दुःख पनि सुख मान्नुपर्ने बुझाई आफूमा बलियो बनेको उल्लेख गर्दै उनले सुनाए, ‘कहिलेकाहीँ आफू सँगै जागिर खाएका सहकर्मीले यो पेसा छोडेर अन्यत्र जाँदा मन त दुख्छ नि ।’
किन दिन्छन् राजीनामा ?
प्रहरी सेवाबाट राजीनामा दिनेको संख्या बढ्नुको मुख्य कारण भनेकै आर्थिक कारण भएको पूर्वप्रहरी नायब महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल ठकुरी बताउँछन् ।
महँगी र कार्य बोझअनुसार सेवा सुविधा नपाउनु, संयुक्त राष्ट्रसंघ (यूएन) मिसन करिब–करिब बन्द हुनु, उमेर छँदै राम्रो अवसर खोजेर वैदेशिक रोजगारीमा जानु, संगठनभित्रकै व्यवहार राम्रो नहुनु र संगठन भन्दा बाहिर राम्रो अवसर पाएका कारण धेरैजसो प्रहरी कर्मचारीले जागिर छाड्ने गरेको ठकुरीको भनाइ छ । उनका अनुसार धेरैजसो प्रहरी कर्मचारीले आफ्नो ऊर्जाशील उमेर आम्दानीसँग जोडेर हेरेका कारण पनि राजीनामा दिने गरेका हुन् ।
जागिर छोड्नेमा सबभन्दा धेरै तल्लो दर्जाका प्रहरी कर्मचारी छन् । ६० प्रतिशत तल्लो दर्जाका प्रहरी कर्मचारीहरू ऋणमा रहेका कारण पनि जागिर छोड्नेको संख्या बढेको प्रहरीले गरेको अध्ययनले नै देखाउँछ । यस्तै, ४० प्रतिशत कर्मचारी १२ घण्टा भन्दा धेरै ड्युटी गर्नुपर्ने भएकाले पनि यस्तो समस्या आएको पूर्वडीआइजी ठकुरीको बुझाइ छ ।
प्रहरीमा जागिर छाड्न राजीनामा दिने अवस्था बाध्यात्मक परिस्थिति र केही सम्बन्धित प्रहरी कर्मचारीकै सोचमा पनि भर पर्ने उनी बताउँछन् । ‘जति पनि प्रहरी कर्मचारीले राजीनामा दिएका छन्, उनीहरूको दर्जा हेर्दा तल्लो तहकै बढी छन्,’ ठकुरीले भने, ‘यसको सबै भन्दा ठुलो कारण भनेकै आर्थिक कारण हो ।’
प्रहरीले गरेको अध्ययनले यससम्बन्धी समस्याहरू औँल्याएको र यस विषयमा सरकारले पनि ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।
प्रहरी सेवामा आकर्षणको एउटा कारण मानिने संयुक्त राष्ट्रसंघीय शान्ति मिसन पनि हो । नेपाल प्रहरीले सन् १९९२ मा संयुक्त राष्ट्रसंघको आह्वानमा तत्कालीन युगोस्लाभियामा पहिलो पटक शान्ति मिसनमा सहभागिता जनाएको थियो । पछिल्लो समय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता कम हुँदै गइरहेको छ । २०२४ सम्मको तथ्याकं हेर्दा मिसन लगभग बन्द हुने अवस्थामा पुगेको छ ।

नेपाल प्रहरीमा हालसम्म प्रोफेसनलतर्फ १८ जना, आईपीओतर्फ तीन हजार ७४ र एफपीयू (हाइटी र डार्फूर) तर्फ पाँच हजार ५३० जना प्रहरीले मिसनमा सहभागिता जनाएका छन् । वर्तमान अवस्थामा भने प्रोफेसनलतर्फ जम्मा चार जना र आईपीओतर्फ २८ (पुरुष १९ र महिला ९) जना मिसनमा छन् । एफपीयूतर्फ भने शून्य सहभागिता छ । अर्थात् यो बन्द भएको छ ।
शान्ति मिसनमा प्रहरीको सहभागिता नै खुम्चिँदै गएको यसले देखाउँछ । सन् २०१२ मा १२७, २०१३ मा ९७, २०१४ मा ७८, २०१५ मा ४८, २०१६ मा केही बढेर ८१, २०१७ मा आधाभन्दा बढी घटेर ३०, २०१८ मा दोब्बर बढेर ७६ जनामा सीमित बन्न पुग्यो ।

यसैगरी २०१९ मा आधाले घटेर ४३, २०२० मा ३८, २०२१ मा २१, २०२२ मा ४१, २०२३ मा ४० र २०२४ मा २८ जना मात्र प्रहरी कर्मचारी राष्ट्रसंघीय मिसनमा सहभागी भए ।