काठमाडौँ । नेपाली काँग्रेसले गत फागुनको पहिलो साता भएको महासमितिको बैठकमा पेश भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने भएको छ ।
साउन २३ गते दिउँसो १ बजे मुख्यालय सानेपामा बस्ने बैठकले महासमिति बैठकमा पेश भएका प्रस्तावलाई पारित गर्न लागेको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थित हुनेछन् । तर, बैठकको सबै एजेण्डा अहिले नै नटुङ्गिएको उनले बताए ।
उनले बैठकको प्रमुख एजेण्डा महासमिति बैठकमा पेश गरेका प्रस्तावहरूलाई परिमार्जनसहित पारित गर्ने रहेको बताए ।
प्रस्तावमा आएको सुझावलाई टुङ्ग्याउन बनाइएको टीमले नेताहरूसँग छलफल गरेपछि मात्रै सबै विषय टुङ्गिने बताए ।
फागुन १० मा सकिएको महासमिति बैठक उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन थापाले पेस गरेको सांगठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको समसामयिक राजनीतिक प्रस्ताव र लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदन बैठकले सर्वसम्मत पारित गरेको थियो । तर, त्यसलाई केन्द्रीय समितिले पूर्णता दिनेछ ।
काँग्रेस महासमितिको बैठकपछि सत्ता परिवर्तनको खेलमा लागेकै कारणले अहिलेसम्म यी प्रस्तावहरू अलपत्र परेका थिए । यो बैठकमा उठेका प्रस्तावहरूलाई देखाउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले काँग्रेससँगको सहकार्य तोडेर एमालेका मिलेका थिए ।
तर, अहिले काँग्रेसले ओलीसँग काँध मिलाएर ‘प्रचण्ड’लाई सत्ता बाहिर बढाएर बदला लिइसकेको छ । दुई ठूला दलहरुबीचको सहमतिमा अहिले एमाले अध्यक्ष ओली प्रधानमन्त्री छन् भने १० महत्त्वपूर्ण मन्त्रालय लिएर काँग्रेस सत्तामा फर्किसकेको छ ।
यस्तै, बैठकमा भ्रातृ संगठनहरूको अधिवेशन, पार्टीको आन्तरिक संगठनलाई सुदृण, पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने उनले बताए ।