काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको छ । यससँगै बेखर्ची भएको प्रदेश सरकारलाई बजेटबाट अध्यादेश ल्याउन बाटो खुलेको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बिहीबार राति १२ बजेदेखि लागु हुने गरी जारी बजेट अधिवेशन अन्त्य गरेका हुन् ।
प्रदेश सभा सचिवालयले सरकारको सिफारिसअनुसार प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा २ अनुसार चालु अधिवेशन अन्त्य गरेको पत्र प्राप्त भएको जानकारी दिएको छ । प्रदेशको मन्त्रिपरिषद् बैठकले २९ असारमा प्रदेश सभाको जारी अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।
तर उक्त निर्णय कार्यान्वयन नगरेर प्रदेश प्रमुख मियाँ सोही दिन प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागी हुन काठमाडौँ आएका थिए । स्वास्थ्य समस्याको कारण देखाउँदै उनी नफर्किएपछि प्रदेश प्रमुखको कार्यालयले सरकारको बजेट अधिवेशन अन्त्य सम्बन्धी सिलबन्दी पत्र बिहीबार काठमाडौँ पठाएको थियो ।
प्रदेश प्रमुखले बजेट अधिवेशन अन्त्य गरेसँगै दीर्घबहादुर सोडारी नेतृत्वको सरकारलाई अध्यादेशमार्फत बजेट ल्याउने बाटो खुलेको छ । राजनीतिक समीकरण फेरिएसँगै २० असारमा एमाले सरकारबाट बाहिरिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ ।