काठमाडौँ। नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्त बहादुर कुँवरले नायब निरीक्षक (सई) बालकृष्ण सन्जेललाई विशेष बढुवा गरेका छन्।
प्रहरी नियमावलीअनुसार आइजिपी कुँवरले सन्जेलसहित ९ जनालाई विशेष बढुवा दिएका हुन्। सई सन्जेल वरिष्ठ सईमा बढुवा भएका छन् । सन्जेल लागु औषध कारोबारी र गुन्डाहरूलाई गोली हानेर चर्चामा आइरहने प्रहरी हुन्।
सन्जेल यसअघि पनि विशेष बढुवा पाएर जवानबाट हवल्दार, हवल्दारबाट असई र असईबाट सई बनेका थिए। लामो समय काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा काम गरेका उनी हाल लागु औषध नियन्त्रण ब्युरोमा छन्। पछिल्लो समय लागु औषध कारोबारीविरुद्ध देशभर भएका गोली प्रहारका घटनामा सन्जेल संलग्न रहेको बताइन्छ।
२०५६ सालमा प्रहरी सेवामा प्रवेश गरेका सन्जेल २०५९ सालमा हवल्दार, २०६७ सालमा असई र २०७३ सालमा सईमा बढुवा भएका थिए। सन्जेलका अधिकांश भर्ना ब्याजीहरु असई छन्।