काठमाडौँ । मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा भएको कमजोरीको उच्चस्तरीय छानबिन गर्ने प्रतिबद्धता जनाएपछि मधेश प्रदेश सभा बैठकको अवरोध हटेको छ ।
बिहीबार बसेको प्रदेशसभाको सुरुमै जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेकाले उक्त बजेटमाथि प्रदेशसभामा छलफल नगर्ने बताए । त्यसपछि जसपा नेपालका सांसदहरु उठेर संसद अवरोध गरे ।
सभामुख रामचन्द्र मण्डलले यो विषयमा यसअघि पनि ४र५ पटक छलफल भइसकेको र निकास ननिस्केकाले समय अभावको कारण सदन अघि बढाउन खोजे । पुनः जसपा प्रमुख सचेतक यादवले कम्तीमा सरकारको धारणा आउनुपर्ने माग गरेपछि सभामुख मण्डलले मुख्यमन्त्री सिंहलाई धारणा राख्न निर्देशन दिए ।
मुख्यमन्त्री सिंहले बजेटमा कहीँ कतै कमजोरी भएको छ भने उच्चस्तरीय छानबिन समिति गठन गर्ने र निर्वाचन क्षेत्रहरूमा रहेको असन्तुलित बजेटको गुनासोलाई मध्यनजर गर्दै सन्तुलित गर्ने प्रयास गर्ने प्रतिबद्धता जनाए ।
योसँगै मधेश प्रदेशसभाको जसपाको अवरोध हटेको छ । बिहीबार आगामी आर्थिक वर्षको आयव्यय र राजश्व अनुमानमाथि छलफल भइरहेको छ ।