काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरमा भएको ‘रेकर्ड ब्रेक’ वर्षाको अध्ययन गर्ने भएको छ ।
असार २३ र २४ गतेको दर्के झरीले नेपालमा हालसम्म रेकर्ड भएको अधिक वर्षाको सबै रेकर्ड तोडेको थियो । अति भारी वर्षासँगै आएको बाढी(पहिरो र डुबानले जनजीवन अस्तव्यस्त भएको थियो ।
विभागका मौसमविदहरुले प्रारम्भिक विश्लेषणबाट कञ्चनपुरमा ‘क्लाउड ब्रस्ट’ (आरी घोप्टे वर्षा) जस्तो देखिएको बताएका छन् । तर यसको मापदण्ड नेपालमा नभएकाले मापदण्ड बनाउने, स्थलगत अवलोकन गर्ने र निष्कर्ष सार्वजनिक गर्ने विभागको तयारी छ । स्थलगत अवलोकनका लागि विभागका मौसमविद् कञ्चनपुर जाने तयारीमा छन् ।
अन्तर्राष्ट्रिय ‘क्लाउड ब्रस्ट’को मापदण्डको सूचक एक घण्टामा एक सय मिलिमिटर वर्षा हो । सन् १९९३ मा मकवानपुरको टिस्टुङमा एक घण्टामा एक सय मिलिमिटरभन्दा बढी वर्षा भएको थियो ।
भूसंरक्षण विभागको तथ्यांक अनुसार २०५० साल साउन ५ गते (२ जुलाई १९९३) मकवानपुरको टिस्टुङ वर्षा केन्द्रमा ५४० मिलिमिटर वर्षा मापन भएको थियो ।
यसैगरी २०७४ साल साउन २९ गते (१३ अगस्ट २०१७) मा मकवानपुरको हेटौँडामा जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार ५१६.२ मिलिमिटर वर्षा मापन भएको थियो ।