काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल टेलिकमको प्रबन्ध निर्देशक बन्न आवेदन दिएकाहरूसँग अन्तरवार्ता लिने भएको छ । सत्तारुढ एमालेले गठबन्धन परिवर्तन गरेर काँग्रेससँग मिलेर सरकार बनाउने सहमति गरेकै दिन मन्त्रालयले आवेदकहरूलाई अन्तरवार्तामा बोलाएको छ ।
नियुक्तिका लागि मन्त्रिपरिषदमा ३ जनाको नाम सिफारिस गर्न अन्तरवार्ता र व्यावसायिक कार्यायोजनाको प्रस्तुतीकरणको तालिका प्रकाशित भएको हो ।
टेलिकमको प्रबन्ध निर्देशक १७ जनाबीच प्रतिस्पर्धा हुँदैछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०, २१, २२ र २३ असारमा अन्तरवार्ता लिन लागेको छ ।
मन्त्रालयले २२ जेठ दरखास्त आह्वान गरेको थियो । यसअघिका प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध १५ असोज २०८०मा नेसनल पेमेन्ट गेट-वे प्रकरणमा भ्रष्टाचारको मुद्दा चलेपछि उनी निलम्बनमा परेका थिए । त्यसपछि टेलिकमकी उपमहाप्रबन्धक संगीता पहाडी अर्यालले निमित्त महाप्रबन्धकको जिम्मेवारीमा छिन् ।