काठमाडौँ । नेपाल पत्रकार महासंघको अस्तित्व रक्षाका लागि जस्तोसुकै कदम चाल्न बाध्य हुने बाम घटक पत्रकार संघ संगठनले चेतावनी दिएका छन् ।
उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा शुक्रबार महासंघको कार्यालयमा प्रेस युनियन सम्बद्ध केही व्यक्ति समूहगत रूपमा जम्मा भएर हुल हुज्जत गर्ने, निर्वाचन समितिका सदस्यमाथि दुर्व्यवहार गर्ने, निर्वाचन कार्यमा खटिएका कर्मचारीमाथि हातपात गर्ने जस्ता निन्दनीय कार्य भएको भन्दै बाम घटक विभिन्न ५ वटा पत्रकार संगठनले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी यस्तो चेतावनी दिएका हुन् ।
यस्तो अवस्थामा पनि महासंघको मूल नेतृत्वले त्यसलाई नियन्त्रण गरी वातावरण सहज बनाउन कुनै पहल नगर्नुले विभिन्न आशंका उत्पन्न गराएको र पत्रकार महासंघको विधि, विधान र स्थापित मान्यता विपरीत महासंघमा हुलहुज्जत गरी प्रक्रियालाई नै अवरुद्ध गर्ने सुनियोजित कार्यमा महासंघको नेतृत्व नै संलग्न भएको स्पष्ट हुने जनाइएको छ ।
