काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा केही पनि भएन भन्ने भाष्य गलत भए पनि जनताको अपेक्षा अनुसार काम गर्न नसकिएको बताएका छन् ।
शुक्रबार जगत बोहरा सावित्री स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नकारात्मक कुरा गरेर रमाउने प्रवृत्तिका कारण गलत भाष्यलाई अगाडि बढाउन मद्दत रहेको उल्लेख गरे । उनले कम्युनिष्टहरुले अब एकताबद्ध भएर त्यो भाष्य चिर्न आवश्यक रहेको बताए ।
उनले भने, ‘अहिले जनतामा देखिएको नकारात्मक भावना चिर्न सबै जिम्मेवार भएर अगाडि बढ्नुपर्छ । कुनैपनि कालखण्डको कुरा गर्दा देशमा केही भएन भन्ने भाष्य गलत हो । धेरै भएको छ तर, जनताको आशा अपेक्षा अनुसार अझै भएको छैन । त्यो पनि सत्य हो । तर नकारात्मक कुरा गरेर रमाउने मात्र प्रवृत्ति कहीँ न कहीँ यस भाष्यलाई अगाडि बढाउन मद्दत छ । कम्युनिष्टहरुले अब एकताबद्ध भएर त्यो भाष्य चिर्न आवश्यक छ ।’
कम्युनिष्ट पार्टीबीच फेरि एकताको प्रक्रिया थालिएको प्रधानमन्त्री दाहालको भनाइ छ । उनले क्रान्ति र परिवर्तनका उपलब्धिहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको दाबी गरे ।