नागार्जुन नगरपालिका : सुशासन र प्रविधिमैत्री सेवा प्रवाहमा अग्रसर « प्रशासन
Logo २९ भाद्र २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नागार्जुन नगरपालिका : सुशासन र प्रविधिमैत्री सेवा प्रवाहमा अग्रसर


१३ असार २०८१, बिहिबार


काठमाडौँ । ऐतिहासिक, धार्मिक, र पर्यटकीय महत्वको क्षेत्र नागार्जुन नगरपालिका संघीय राजधानीमा अवस्थित छ । उपलब्ध स्रोत र साधनको उपयोग गरी सुशासन कायम गर्दै सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन अग्रसर यो नगरपालिका पारदर्शिता र नवप्रविधिको प्रयोग गर्दै नागरिकहरूको जीवनस्तर सुधार्न निरन्तर प्रयासरत छ ।

सहज सेवा प्रवाह, राजस्व व्यवस्थापन, स्वास्थ्य, शिक्षा, अपाङ्गता सहयोग, फोहोर व्यवस्थापन, बजार अनुगमन, पर्यटन, खुला पार्कको संरक्षण र नगरको सर्वाङ्गीण विकास नागार्जुन नगरपालिकाका प्राथमिकताका क्षेत्र हुन् । नगरपालिका विकास निर्माणका लागि निश्चित मापदण्ड बनाएर काम गरिरहेको छ ।

सडक निर्माण मात्र नभई सहरी विकासमा खुला क्षेत्र प्रवर्द्धन गर्ने लक्ष्यका साथ काम गर्दै आएको यो नगरपालिकाले पारदर्शिता र सुशासनलाई प्राथमिकतामा राख्दै सूचना प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएको छ । यसले गर्दा नागरिकहरूलाई विभिन्न सेवाहरू छिटो र सजिलै उपलब्ध गराउन सक्षम भएको छ ।

स्वास्थ्य, शिक्षा, र अपाङ्गता सहयोगका क्षेत्रमा पनि नगरपालिकाले महत्त्वपूर्ण कदमहरू चालेको छ । स्वास्थ्य सेवामा सुधार ल्याउन आफ्नै अस्पताल स्थापना गरेको छ भने, शिक्षा क्षेत्रमा निःशुल्क शिक्षा र खाजाको व्यवस्था गरिएको छ । अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष सहायता सामग्री र सेवाहरू उपलब्ध गराइएको छ ।

प्रविधिमार्फत सुशासन
सुशासनका लागि प्रविधिको प्रयोगलाई उच्च प्राथमिकता दिएको नगरपालिकाले आफ्ना अधिकतम सार्वजनिक सेवालाई प्रविधिमैत्री अर्थात् डिजिटलयुक्त बनाएको छ । जसले गर्दा सेवाग्राहीहरूले विभिन्न किसिमका प्रक्रियागत झन्झटबाट मुक्ति पाएका छन् ।

क्युआर कोडमार्फत सेवा लिन सकिने व्यवस्था गरिएको छ । पालिकाले इलेक्ट्रोनिक बिल्डिङ पर्मिट सिस्टम (इबिपीएस) लागू गरेर नक्सा पासको प्रक्रिया अघि बढाएको छ । 

नगरपालिकाका नक्सा शाखा प्रमुख इन्जिनियर शम्भुराज श्रेष्ठका अनुसार विगत तीन वर्षदेखि इबिपीएस लागू गरेको नगरपालिकाले सबै डाटाहरू कम्प्युटरमा प्रविष्ट गरेको छ । योसँगै पालिकामा डिजिटल सिग्नेचर लागू भएको छ ।

पेपरबाट हुने काम डिजिटल सिस्टमबाट गर्न थालिएको छ । जसले सेवाग्राहीलाई सहज भएको छ भने समयको पनि बचत भएको छ । ‘आफ्नो नक्साको काम कहाँ पुगेको छ, कहाँ पुगेर अड्किएको छ ? सेवाग्राहीले आफैँ चेक गरेर थाहा पाउन सक्ने भएका छन्,’ इन्जिनियर श्रेष्ठले भने, ‘वैशाख १ गतेबाट यो सेवा पूर्णरुपमा लागू भएको छ ।’

ठूलो प्रकारको भवन निर्माणका लागि जुरीको समेत व्यवस्था गरिएको छ । जुरीबाट पास भएपछि मात्र भवन निर्माणका लागि स्वीकृत प्रदान गर्ने गरिएको छ । नक्सा पासका लागि विभिन्न प्रक्रिया पुरा गर्नुपर्छ । ‘डिजाइनर डेस्कबाट टेक्निकल शाखामा जान्छ, त्यहाँबाट पास भएपछि नक्सा वडामा पठाइन्छ । वडाबाट फेरी इन्जिनियरिङ शाखामा आउँछ,’ श्रेष्ठले भने, ’इन्जिनियरिङ शाखाले राजस्व शाखामा पठाउँछ । राजस्व शाखाबाट राजस्व तिरेपछि नागरिकको मोबाइलमा नोटिस जान्छ ।’

डिजिटल डकुमेन्टेशन गरी पेपरलेस रूपमा छिटो छरितो काम गर्ने गरी पालिकाले सूचना प्रविधिको प्रयोगलाई प्रभावकारी रूपमा लागू गरेको छ । 

यसैगरी गाउँपालिकाबाट कुनै सिफारिसका लागि आवेदन गर्नु पर्ने भएमा अनलाइनमार्फत डिजिटल आवेदन गर्न सकिने व्यवस्था गरिएको छ । कार्यालयमा कर्मचारीको हाजिरी डिजिटल रूपमा अनिवार्य गर्नु पर्ने व्यवस्था गरिएको छ । जसले गर्दा नगरपालिकामा सुशासन कायम गर्नमा सघाउ पुगेको छ । सेवाग्राहीलाई नै केन्द्रमा राखेर सिफारिस, प्रमाणित जस्ता सेवाहरू प्रविधिमैत्री बनाइएको प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी बताउँछन् ।

धार्मिक एवं ऐतिहासिक स्थलको सम्वद्र्धन तथा प्रवर्द्धन
ऐतिहासिक, धार्मिक एवं पर्यटकीय रूपमा परिचित नागार्जुन नगरपालिकामा रहेका धार्मिक स्थलहरूको सम्वद्र्धन र प्रवर्द्धनमा नगरपालिकाले काम गरी रहेको छ ।

इचङ्गुनारायण मन्दिर, आदेश्वर महादेव, हल्चोक आकाश भैरव, रानीवन क्षेत्र, नागार्जुन जामाचो, ह्वाइट गुम्बा, बद्री नारायण धाम, गणेशमान स्मृति पार्क, सहिद पार्क, भीमसेन स्थान, भीमढुङ्गा, स्वीजरल्याण्ड पार्क, हसन्टार गुम्बा, भुवनेश्वरी मन्दिर, पञ्चकन्या मन्दिर, तारकेश्वर मन्दिर जस्ता धार्मिक स्थलहरू छन् । नगरपालिकाले धार्मिक पर्यटकीय विकासका लागि मन्दिरको मर्मत सम्भार, प्रचारप्रसारका लागि काम गरी रहेको छ ।

नगरपालिकाले लाखे नाचका लागि आवश्यक गरगहना र बाजाको व्यवस्थापन गरेको छ । इचङ्गुनारायणको मन्दिर निर्माण, मन्दिरसम्मको बाटो निर्माण, आदेश्वर महादेवको मन्दिरको डिपिआर तयार भएको छ । साथै पर्यटकीय स्थलहरूको संरक्षणको काम पनि गर्दै आएको छ ।

नगरपालिकाले ‘समृद्ध नागार्जुनको आधार, पर्यटनसहितको पूर्वाधार’ नारा नै तय गरेको छ । पर्यटनको लागि पूर्वाधार पनि तयार गरिरहेको छ । ‘संघीय राजधानीसँग जोडिएको नगरपालिका हो । यो पालिकाका धार्मिक एवं सांस्कृतिक पहिचानसहित सामुदायिक वनमा रहेका प्राकृतिक स्रोतहरूको संरक्षण गर्ने काम भई रहेको छ,’ नगरप्रमुख मोहन बहादुर बस्नेतले भने ।

पशुपतिनाथ दर्शनका लागि आएका भक्तजनहरूलाई आदेश्वर महादेवको दर्शनका लागि ल्याउने र स्वयम्भू आएका पर्यटकलाई ह्वाइट गुम्बासम्म ल्याउने विषयमा पनि पालिकाले पहल गरिरहेको छ । ‘यस विषयमा अध्ययन भई रहेको छ,’ नगरपालिकाका प्रवक्ता महेश रिमालले भने, ‘१ नं. वडादेखि १० नं. वडासम्म जोड्ने गरी साइकल पदयात्रा सुरु भएको छ ।’

चार नारायण मध्येका इचङ्गुनारायण एक हुन् । ‘चाँगुनारायण, शेषनारायण, विशङ्कुनारायण रहेका छन्,’ इचङ्गुनारायण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीलाल श्रेष्ठले भने, ‘इचङ्गुनारायण मन्दिर निर्माण हुँदैछ । नगरपालिकाले पनि सहयोग गरेको छ ।  दुई करोड रुपैयाँ सहयोग भएको छ ।’

यसै गरी नगरपालिकाले आदेश्वर महादेवको मन्दिर व्यवस्थापनका लागि पनि सहयोग गरेको छ । लिच्छविकालीन र मल्लकालीन समय देखिनै आदेश्वर महादेवप्रति आस्था रहेको पाइन्छ । इचङ्गुनारायण मन्दिरका पुजारी सुदर्शन रिमालले भने, ‘अक्षय तृतीया, शिवरात्रि जस्ता पर्वमा साबिकको सिता पाइला गाविसले जल प्रसादको व्यवस्था गर्दै आएकोमा अहिले नगरपालिकाले सहयोग गरेको छ । गुरुयोजना बनाएर अघि बढेको छ ।’ 

नगरपालिकाको आफ्नै अस्पताल
नागार्जुन नगरपालिकाले शिक्षा, स्वास्थ्य र अपाङ्गताका क्षेत्रमा पनि महत्त्वपूर्ण कार्य गरेको छ । यस क्रममा नगरपालिकाले आफ्नै अस्पताल स्थापना गरेको छ ।

२०८१ जेठ १ गते स्थापना भएको अस्पतालमा अस्पतालमा ३९ जना कर्मचारीहरू कार्यरत छन् । स्वास्थ्य बिमालाई प्राथमिकतामा राखेर अस्पताल स्थापना भएको हो । ‘सुगर, प्रेसर, ग्यास्ट्रिक, थाइराइड, मुटु, कलेजो जाँच गर्नुका साथसाथै अस्पतालबाट हुन नसक्ने जाँचको लागि माथिल्लो अस्पतालहरूमा पठाउने गरिएको नागार्जुन अस्पताल प्रमुख डा. शीतल श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार ल्याब पनि सञ्चालनमा छ । 

‘बिमाको लागि फार्मेसी सुरु भएको छ । अहिले एकदेखि तीन महिनाको लागि बिमा अन्तर्गतका बिरामीहरूलाई औषधि उपलब्ध गराइएको छ । यसै गरी आकस्मिक सेवा, मातृ शिशु सेवा पनि अस्पतालबाट प्रदान गर्ने गरिएको छ’, उनले भनिन्, ‘९९ वटा औषधि निःशुल्क उपलब्ध गराउने गरिएको छ ।’

भविष्यमा भिडियो एक्स-रे, इकोकार्डियोग्राफी, सर्जरी जस्ता सेवा सञ्चालन गर्ने योजना अस्पतालको रहेको छ । पालिकाका १० वडामा स्वास्थ्य बिमा उपलब्ध छ । 

नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायता सामग्री पनि उपलब्ध गराएको छ । पालिकाले ह्विलचियर उपलब्ध गराएकोमा स्थानीय वडा नं. ३ की स्थानीय मौसमी रिमाल निकै खुसी छिन् । ह्विलचियर उपलब्ध गराएकोमा खुसी व्यक्ति गर्दै स्थानीय उत्तमहरि रिमालले भने, ‘आगामी दिनमा पालिकाले थप सुविधा उपलब्ध गराउँछ भन्ने आशा छ । बिरामीको रेखदेखका लागि जनशक्तिको व्यवस्था गरे राम्रो हुने थियो ।’

पहिलो चरणमा वडा नं. १ र १० बाहेकमा वडाबाट निवेदन लिएर सहायता सामग्रीहरू उपलब्ध गराइएको हो । नगरपालिकाका प्रवक्ता रिमालका अनुसार यस पटकको बजेटबाट नगर अस्पताल सुरु गरिएको छ भने सबै नागरिकको स्वपथ्य बिमा निःशुल्क गर्ने निर्णय भएको छ ।

‘३१ हजार घरलाई स्वास्थ्य बिमा प्रदान गरिएको छ । निःशुल्क शिक्षा प्रदान गरिएको छ,’ नगरप्रमुख बस्नेतले भने ।

शिक्षा र स्वास्थ्य विशेष प्राथमिकतामा
स्वास्थ्य नै धन हो भन्ने बुझेको नगरपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको छ । नगरपालिकाले एम्बुलेन्स र शव बाहान सेवा निःशुल्क रूपमा प्रदान गर्ने गरेको छ ।

वैकल्पिक चिकित्साका रूपमा आयुर्वेद औषधालयको विकास गरिएको छ । अति अशक्त बिरामी, दीर्घ रोगी, नारी स्वास्थ्य सम्बन्धी परामर्श घरदैलो सेवा लागू गरिएको छ । अपाङ्गता भएका व्यक्तिका लागि सहायता सामग्री वितरण गर्नुका साथै पालिकाले निःशुल्क थेरापी तथा अटिजम भएका बालबालिकाको हेरचाहका लागि मासिक दुई हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । 

नगरपालिकाले अपाङ्गता भएका नागरिकलाई गरेको सहयोगले निकै राहत मिलेको स्थानीय सेवाग्राही सुनाउँछन् । कक्षा ८ मा अध्ययनरत दिव्या लौडारीले भनिन्, ‘नगरपालिकाले इयरफोन उपलब्ध गराएको छ । सुरक्षा भत्ता दिएको छ । अध्ययनका लागि सहयोग पुगेको छ ।’ 

उनकी आमा कुबिजाका अनुसार साङ्केतिक भाषाको कक्षा सञ्चालन भएमा थप सहज हुने थियो । ‘स्कुल बसको व्यवस्था नहुँदा विद्यालय पुग्न समस्या भएको छ,’ उनले भनिन्, ‘यसको व्यवस्था भए सहज हुने थियो । स्कुल जानकै लागि समस्या छ ।’

एक पालिका एक दोभासेको नीति अनुसार नागार्जुन नगरपालिकामा दोभासेको व्यवस्था गरिएको हो । दोभासेको व्यवस्था भएपछि पालिका भित्रका बहिरा व्यक्तिहरू खुसी छन् । ‘हाम्रो कुरा बुझ्ने मान्छे पालिकामा छ भन्ने उहाँहरूलाई लागेको छ,’ नगरपालिकामा दोभासेका रूपमा कार्यरत राजकुमार खतिवडा भन्छन्, ‘यसले उहाँहरूलाई सहज बनाएको छ । साङ्केतिक भाषा सिक्न पाए हामी पनि हाम्रा बच्चासँग कुराकानी गर्न पाउँथ्यौँ भन्ने अभिभावकहरूको चाहना छ ।’ 

अभिभावकलाई साङ्केतिक भाषाको कक्षा राख्ने विषयमा नगरपालिका सकारात्मक रहेको उनले बताए । आगामी दिनमा अटिजम भएका बालबालिकाको लागि थेरापी र शिक्षाको लागि थेरापी सेन्टर र सिकाई केन्द्रको व्यवस्था गर्ने योजना नगरपालिकाको रहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । 

नगरपालिकाले कक्षा १० सम्म निःशुल्क शिक्षा प्रदान गर्दै आएको छ । विद्यार्थीहरूलाई निःशुल्क शिक्षा र खाजाको लागि व्यवस्था गरिएको छ । निःशुल्क शिक्षा प्रयोजनका लागि नगरपालिकाले जनउद्धार माध्यमिक विद्यालयलाई २२ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । जनउद्धार माध्यमिक विद्यालयका राजन न्यौपानेका अनुसार प्राथमिक तहका विद्यार्थीका लागि नेपाल सरकारले उपलब्ध गराउँदै आएको १५ रुपैयाँमा नगरपालिकाले १० रुपैयाँ थप सहयोग गरेको छ । विद्यालय सहायक र सुरक्षा गार्डको लागि नगरपालिकाले सहयोग रकम उपलब्ध गराउँदै आएको उनले बताए ।

शिक्षामा जोड दिँदै आएको नगरपालिकाले प्रत्येक वडामा पुस्तकालय स्थापना गर्ने योजना बनाएको छ । यस क्रममा वडा नं. ७ ले पुस्तकालय स्थापना गरेको छ । वडा कार्यालयले खोलेको पुस्तकालयमा लोक सेवा आयोगका पुस्तकहरू बढी राखिएका छन् ।

‘नगरपालिकाको सहयोगमा पुस्तकालय स्थापना भएकोमा खुसी छु,’ वडा नं. ७ का वडाध्यक्ष शैलेन्द्र लामाले भने, ‘उमेर समूह अनुसारका पुस्तकहरू पुस्तकालयमा राखिएको कारण वडावासी पनि खुसी हुनुहुन्छ । ’

न्याय र रोजगारी
स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार अनुसार नै पालिकाले काम आफ्नो गर्दै आएको छ । आर्थिक, सामाजिक, पूर्वाधार, वन वातावरण तथा विपद् व्यवस्थापन र सेवा प्रवाह तथा सुशासन गरेर पाँच क्षेत्रमा नगरपालिकाले काम गर्दै आएको हो ।

स्थानीय तहले पाएको अधिकार मध्येको न्यायिक समिति बलियो अधिकार हो । जग्गा विवाद सम्बन्धी बढी मुद्दाहरू न्यायिक समितिमा आउने गर्दछन् । खान लाउन नदिएको, लेनदेनका मुद्दालगायतका मुद्दाहरू समितिमा आउने गर्दछन् ।

समितिमा आएका मुद्दाहरू सकेसम्म मेलमिलापको माध्यमबाट निरूपण गर्ने गरिएको नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले बताइन् । ‘संवैधानिक र स्थानीय सरकार सञ्चालन सम्बन्धी अधिकारको प्रयोग गरेर नै मुद्दाहरू निरूपण गर्ने गरिएको हो । मेलमिलापकर्ताको पनि व्यवस्था गरिएको छ,’ उनले भनिन्, ‘महिलाहरूलाई आत्मनिर्भर गराउने, उहाँहरूको अधिकारलाई सु–सूचित गराउने बारेमा तालिम र कार्यक्रमहरू गर्ने गरेका छौँ ।’

यसैगरी नगरपालिकाले मानव सेवालाई पनि प्राथमिकतामा राखेको छ । सडक पेटीमा बस्ने, बेसहारा, असक्त व्यक्तिका लागि मानव सेवा आश्रमसँग सम्झौता गरेर त्यस्ता व्यक्तिहरूलाई आश्रयको व्यवस्था गरिएको छ । 

नगरपालिकाले मानव सेवा आश्रमलाई सहयोग गर्दै आएको छ । ‘भवनको भाडा तिर्नु नपर्दा सहज भएको छ,’ मानव सेवा आश्रमकी मनीषा खत्रीले भनिन्, ‘पालिकाले भवन बनाइदिँदै छ । भोलिका दिनमा पनि यस्तै सहयोगको अपेक्षा छ ।’

नगरपालिकाले निःशुल्क रूपमा सिप मूलक तालिम प्रदान गरी प्रविधि हस्तान्तरण गरेर व्यवसायीक बनाउने काम गरेको छ । गाई पाल्ने कृषकलाई एउटा गाई उपलब्ध गराएको छ । युवा पलायन रोक्न नगरपालिकाले बिना धितो ऋण उपलब्ध गराई उद्योग सञ्चालन गर्न सक्ने वातावरण तयार गर्दै छ ।

ठुला सडक र पुल निर्माणको काम सम्पन्न भइसकेको अवस्था छ । प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार गुणस्तर कायम गर्नका लागि विकास निर्माणसँग सम्बन्धित विषयमा ल्याब टेस्ट हुने गरेको  छ । साइट इन्जिनियर र प्राविधिकहरूको निगरानीमा काम हुने गरेको हो । 

यसै गरी सार्वजनिक तथा सामाजिक परीक्षण गर्ने गरिएको छ । सार्वजनिक सुनुवाइहरू हुने गरेको छ । प्राप्त सल्लाह सुझावलाई कार्यान्वयन पनि गर्ने गरिएको अधिकारीले बताए ।

सार्वजनिक जग्गा संरक्षण नगरपालिको प्राथमिकतामा छ । प्रवक्ता रिमालका अनुसार पालिकामा रहेका १७ वटा सामुदायिक वन संरक्षणका लागि काम भएको छ । 

सार्वजनिक जग्गा पहिचान गर्न र अतिक्रमण भएको छ छैन भन्ने पहिचान गर्न नगर उपप्रमुखको संयोजकत्वमा समिति नै बनाइएको छ । जनप्रतिनिधि, नापी, मालपोत कार्यालय र नागरिक समाजका प्रतिनिधिहरू उक्त समितिमा छन् ।

पहिचान भएका सार्वजनिक जग्गामा पार्क बनाउने काम भइरहेको छ । एक वडा एक पार्कको नीति अवलम्बन गरी नगरपालिका अघि बढेको छ । वातावरण स्वच्छ राख्न बिरुवा रोप्ने र खोलानाला सफाई गर्ने काम पनि भएको छ ।

नगरपालिकाले विकास निर्माणका गतिविधिलाई विभिन्न विषयगत समितिमार्फत अनुगमन गर्ने गरेको छ । हरेक वडाले हप्तामा एक पटक अनिवार्य रूपमा बजार अनुगमन गर्ने व्यवस्था लागू गरिएको छ । जसले गर्दा बजारमा उपभोक्ता ठगी हुनबाट जोगिएका छन् भने बजारमा बस्तुको गुणस्तर कायम गर्न र यथार्थ मूल्य कायम गर्न मदत पुगेको छ ।

जनप्रतिनिधि र कर्मचारीहरूबिच कुनै द्वन्द्व छैन । सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा जनप्रतिनिधि र कर्मचारीबिच छलफल हुने गरेको छ । कुनै समस्या आए छलफलबाटै टुङ्ग्याउने गरिएको छ । प्रशासनिक र नीतिगत सुधार गर्दै नगरपालिका अघि बढेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस