काठमाडौँ । नेकपा एमालेका युवा सांसद सुहाङ नेम्वाङले संविधानतः प्रत्येक नागरिकलाई स्वास्थ्यसम्बन्धी हकको ग्यारेन्टी गरिएकोमा इलामका जनता त्यसबाट वञ्चित हुनु परिरहेको बताएका छन् ।
आज प्रतिनिधि सभामा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै उनले इलामको एकमात्रै जिल्ला अस्पतालमा १४ जनाको विशेषज्ञ चिकित्सकको दरबन्दी भएपनि ११ जना रिक्त भएको सुनाए ।
‘अस्पतालमा भेन्टिलेटर, आईसीयूलगायतका सेवाका लागि उपकरणहरू छन् । तर, दक्ष जनशक्ति अभावमा उपकरण त्यसै ब्रिग्रिएर जाने अवस्थामा छ । अस्पतालको भवन जीर्ण छ । सामान्य उपचारको लागि पनि झापा झर्नु पर्ने बाध्यता छ । अस्पताललाई सुविधा सम्पन्न बनाउन सकिए इलाम मात्रै होइन छिमेकी जिल्लाहरू ताप्लेजुङ, पाँचथर जिल्लाको जनताको लागि पनि उत्तिकै उपयोगी हुनेछ’, सांसद नेम्वाङले भने ।
उनले इलाम जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी अनुसारको पदपूर्ति, भवन निर्माणको माग गरे ।