काठमाडौँ । गृह नेतृत्वको पटक पटकको अनुगमन र निर्देशनपछि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सुधारका सङ्केतहरू देखा पर्न थालेका छन् । विगतमा बदनाम बनेको कार्यालयको सुधारका लागि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र गृह सचिव एकनारायण अर्याल आफै सक्रिय बनेसँगै सुधारको आशा पलाएको हो । गृह सचिव अर्याल र गृह मन्त्री लामिछानेको पटक पटकको आकस्मिक छड्के र कडा निर्देशनकै कारण सेवाग्राहीले पाउने गरेको सास्तीसँगै कर्मचारीको बानी व्यवहारमा सुधार आएको मन्त्रालयको भनाई छ ।
शुक्रबार(आज) त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय पुगेका गृहमन्त्री लामिछानेले नेपालमा पछिल्लो समय हुँदै गरेको परिवर्तनको आभास आफूले अध्यागमनबाटै पाएको बताए । उनले १०० दिनको अवधिमा अध्यागमनमा आएको परिवर्तनले आफूलाई खुसी बनाएको बताए । अध्यागमन देशको द्वार भएकोले परिवर्तनको आवास पनि द्वारबाटै दिन खोजेको उनको भनाइ छ ।
‘मन्त्रालय सम्हालेको १०० दिन पुगेको अवसर पारेर १०० दिनको सुरुवात यहीँबाट गर्न म अध्यागमन आएको हुँ,’ गृहमन्त्री लामिछानेले भने, ‘तपाईँहरूलाई उत्साह मिलोस् भन्नका लागि आएको हुँ ।’ अध्यागमनमा सुधार भएको र थप सुधारका लागि प्राविधिकसहितको समिति बनाएर अध्ययन गरिरहेको उनले जानकारी दिए । ‘समितिले तीन महिनामा आफ्नो प्रतिवेदन दिने छ र अध्यागमनमा थप सुधार गर्न मद्दत गर्ने छ,’ उनले भने ।
अध्यागमनको सेवा सुधारका लागि विगत एक दशकदेखि नै आफ्नो चासो रहेको भन्दै गृहमन्त्री लामिछानेले अहिले आफू नेतृत्वमा रहेकोले यसको सुधार गर्नैपर्ने चुनौती रहेको बताए । असल नियतले राम्रो काम गर्ने कर्मचारीलाई आफ्नो सधैँ साथ रहने उनको भनाइ छ । ‘गुड इन्टेन्सनका साथ काम गर्दा तपाईँलाई विवादित बनाउन खोजे, आरोप प्रत्यारोप गर्न खोजे वा मिडिया ट्रायल गर्न खोजे भने नडराउनुस् म अभिभावकको रूपमा तपाईँको साथमा छु ।’

गृहमन्त्रीसँगै अध्यागमन कार्यालय पुगेका गृह सचिव एकनारायण अर्यालले अध्यागमन कार्यालय नेपाल सरकार र गृह मन्त्रालयको प्राथमिकतामा रहेको बताए । ‘विगतको तुलनामा अध्यागमनमा सुधार भएको अनुभूति भयो । तर, सोचे अनुसारको सुधार गर्न अझै मेहेनत गर्नुपर्ने छ,’ गृह सचिव अर्यालले भने, ‘सुधार गर्नुपर्ने सन्दर्भमा मन्त्रालयमा छलफल भइरहेको छ ।’
पारदर्शी सेवाका लागि सरकारी सेवा प्रवाहलाई क्यास लेस, फेस लेस र पेपर लेस बनाउने योजना अनुसार नै काम भइरहेको उनको भनाइ छ । अध्यागमनको सेवा प्रवाहले नै देशमा हुने सेवा प्रवाहलाई झल्काउने भन्दै गृह सचिव अर्यालले दैनिक ८ हजार नागरिक आउने जाने स्थानमा चुस्त दुरुस्त सेवा प्रवाह गर्न निर्देशन दिए । ‘गृह मन्त्रालयले अध्यागमनलाई पहिलो प्राथमिकतामा राखेको छ । त्यही कारण ड्रेस कोडको व्यवस्था गरिएको छ,’ गृह सचिव अर्यालले भने, ‘सरकारलाई बदनाम गराउने, मन्त्रालयलाई बदनाम गराउने, अध्यागमनलाई बदनाम गराउने हिसाबले अध्यागमनमा खेल्न खोजेको पाइएको छ । विभिन्न खालका आरोप प्रत्यारोप गराउन खोज्ने गिरोह पनि सक्रिय छ, त्यसलाई तपाईँहरूको कार्यले नै निस्तेज बनाउने हो ।’

कानुनका कारण सामान्य मानिसहरूले दुःख पाएको अवस्था रहेकोले अध्यागमनमा भएका विकृति हटाउन के गर्न सकिन्छ भन्ने बारेमा उनले कर्मचारीहरूसँग सुझाव माग्दै महिलाहरूलाई ललाइफकाई बाहिर पठाउने गिरोहबारे जानकारी गराउन निर्देशन दिए । गृह सचिव अर्यालले भने, ‘कसलाई भिआइपी भन्ने र भिआइपी भनिने बाटै विकृतिका काम भइरहेका घटनाहरू पनि बाहिर आइरहेको सन्दर्भमा यसतर्फ कर्मचारीहरू सजग र सचेत हुनु पर्छ ।’

अनियमित क्रियाकलाप गर्नेहरूलाई छुट नहुने उनको भनाइ छ । ‘पूर्वाधार, प्रविधि लगायतका सबै सुविधा हुँदाहुँदै पनि मान्छेले विवेक प्रयोग गर्दैन भने उसलाई छुट दिने कुरै छैन,’ उनको भनाइ छ ।

गृहमन्त्री लामिछाने र गृह सचिव अर्यालसहित अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतको टोली शुक्रबार त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय पुगेको थियो । जसले विमानस्थलस्थित अध्यागमन कार्यालय,त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत सुरेश पन्थी, त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश बराल तथा अन्य निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई पनि सेवा प्रवाह चुस्त दुरुस्त राख्न निर्देशन दिइएको थियो ।

यससँगै छुट्टै पहिचानका लागि अध्यागमन कार्यालयका कर्मचारीलाई तोकिएको पोशाकसमेत आजैदेखि शुरु भएको छ । यसले कर्मचारीलाई उत्प्रेरित गर्नुका साथै सेवाग्राहीका लागिसमेत सहजता प्रदान गर्ने विश्वास गृह मन्त्रालयले लिएको छ । विदेशी नागरिकले भेट्ने पहिलो सरकारी कर्मचारीका रूपमा अध्यागमन कर्मचारी रहेको र अध्यागमन सेवा प्रदान गर्ने कर्मचारी पहिचान गर्न सहज बनाउन अध्यागमनका कर्मचारीलाई अलग पहिचान दिन छुट्टै पोसाक प्रयोगमा ल्याइएको हो ।
सम्बन्धित समाचार: गृह सचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन
सम्बन्धित समाचार: पहिचानका लागि अध्यागमनका कर्मचारीको छुट्टै पोशाक

