गृह सचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

गृह सचिव अर्यालद्वारा विमानस्थल अध्यागमनको आकस्मिक निरीक्षण, सुरक्षा र सेवा प्रवाह चुस्त राख्न निर्देशन


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । गृह सचिव एकनारायण अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गरेका छन् । उनले प्रस्थान र आवागमनका दुवै कक्षसँगै कार्यालयको निरीक्षण गरेका हुन् ।

यात्रु प्रस्थान गर्ने तर्फबाटै यात्रुकै रूपमा विमानस्थल छिरेका अर्यालले एयरलाइन्सका काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्ने सम्मको निरीक्षण गरे । उनी बुधबार बिहान ९ बजे नै अन्तर्राष्ट्रिय विमानस्थलतिर लागेका थिए । तर, उनी आउने सुइँको कर्मचारीहरूले पाएका थिएनन् ।

यात्रुको चेकजाँच हुने क्षेत्रको निरीक्षण गरेका गृह सचिव अर्यालले अध्यागमनमा डेस्क थप्ने लगायत भिआइपी कक्ष, सिसी क्यामरा, कर्मचारीहरूको कार्यकक्षसँगै अध्यागमन र सुरक्षा अवस्थाबारेसमेत निरीक्षण गरेका छन् ।

आकस्मिक निरीक्षणमा पुगेका गृह सचिव अर्यालले विमानस्थलस्थित डिउटीमा खटिएका अध्यागमन अधिकृतहरूसँग सेवा सञ्चालनका क्रममा केही समस्या छन् कि ? भनेर सोधेका थिए । उनले कुनै समस्या भए कार्यालय प्रमुखमार्फत मन्त्रालयमा पठाउन भने । गृह सचिव अर्यालले जिम्मेवारी निर्वाह गर्ने क्रममा सेवाग्राहीलाई सेवा दिने कार्यमा कुनै कन्ज्यूस्याई नगर्न कर्मचारीलाई भनेका छन् ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका डिउटी अधिकृतहरूसँग पनि उनले कुराकानी गरे । भौतिक पूर्वाधारदेखि लिएर जनशक्ति तथा समन्वयबारे समेत चाँसो राखेका गृह सचिव अर्यालले डिउटीमा खटिएका जवानदेखि अधिकृतसम्मका अनुभव र गुनासा सुन्नुुका साथै तत्काल समन्वय गर्नुपर्ने विषयमा अन दि स्पट नै सम्बन्धित कार्यालय प्रमुखलाई निर्देशनसमेत दिएका छन् । यात्रु आगमनदेखि कर्मचारी, सुरक्षाकर्मी तथा कार्यालय प्रमुखहरू बस्ने कार्यकक्षसम्मै अनुगमन गरेका गृह सचिव अर्यालले देखिएका स–साना समस्याहरू समाधान गर्न र सरसफाइमा ध्यान दिन सम्बन्धित कार्यालय प्रमुखहरूलाई निर्देशन दिए ।

नेपाल प्रहरी प्रमुख आइजिपी वसन्त बहादुर कुँवर र गृह मन्त्रालयका सहसचिव एवं सुरक्षा तथा समन्वय महाशाखा प्रमुख नारायण प्रसाद भट्टराईसहित अध्यागमन पुगेका गृह सचिव अर्यालले अध्यागमन विभागका महानिर्देशक कोषहरि निरौला, प्रमुख अध्यागमन अधिकृत नर बहादुर थापा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एसएसपी कृष्णहरि शर्मा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका हवाई सुरक्षा महाशाखा प्रमुख बच्चुराम श्रेष्ठ, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका विजय ढुङ्गाना लगायतलाई आ–आफ्नो क्षेत्रबाट सेवा प्रवाहलाई चुस्त राख्न निर्देशन दिएका छन् । 

‘उपलब्ध स्रोत र साधनहरूको अधिकतम उपयोग गर्नुस् । जुन–जुन निकायको जे–जे जिम्मेवारी हो, तत्तत् निकायका कर्मचारीहरूले इमान्दार भएर त्यो पुरा गर्नुस्’, उनले भने, ‘भएका उपकरणहरूलाई समयमै मर्मत गरी तत्काल सञ्चालनमा ल्याउनुस् । भौतिक पूर्वाधारका मर्मत तथा निर्माणका कार्यहरू छिटो सक्नुस् ।’ राम्रो काममा मन्त्रालयको सधैँ सहयोग हुने उनको भनाइ छ ।

सिस्टमा कहीँ कतै समस्या भएमा नियमित मर्मत सम्भार र कर्मचारीहरू नियमित उपस्थित भई सेवा प्रवाह गर्नुपर्ने गृह सचिवबाट निर्देशन भएको छ । अर्यालले विभागलाई विमानस्थलमा हुने कार्य प्रविधिमैत्री बनाउन, नेटवर्किङ र अन्तर निकाय समन्वय गरेर प्रभावकारी सेवा सञ्चालन गर्न निर्देशन दिए ।

निरीक्षणका क्रममा गृह सचिव अर्यालले प्रमुख अध्यागमन अधिकृत नरबहादुर थापालाई अध्यागमनमा डेस्क थप्न भएको निर्णय कार्यान्वयनमा ल्याउन, भिसा इन्ट्री डेस्क अपडेट राख्न, सबै डेस्कमा कर्मचारीको व्यवस्था मिलाउन तथा बिग्रेको सामान तत्काल मर्मत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । कस्टममा एक्सरे मेसिन बनाउने, लगेज आउने बेल्टमा बिग्रिएको मेसिन बनाउने विषयमा अर्यालले निर्देशन दिएसँगै थापाले डेस्क थप्ने विषयमा क्यानबाट र तत्कालै थप्नुपर्ने मेसिन विभागबाट समयमै उपलब्ध गराएमा सहज हुने जानकारी सचिव अर्याललाई गराएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एसएसपी कृष्णहरि शर्माले विशेष गरी न्यून स्रोत साधन तथा जनशक्तिका बिच बढ्दो सेवाग्राहीको चापलाई व्यवस्थापन गरिहरेको जानकारी गराए । अहिले २८ वटा मेसिन सञ्चालनमा रहेका छन् । जुन २४ घण्टा सञ्चालनमा रहन्छन् । जसका लागि तीन वटा सिफ्टमा सञ्चालन गर्दा ८४ जना जनशक्ति आवश्यक पर्छ तर ६० जना प्रहरीले काम गरिरहेको प्रहरी अधिकारीले जनाएका छन् । त्यहाँ कम्तिमा पनि १०० जना प्रहरी अधिकारी आवश्यक पर्ने बत्ताइन्छ । 

इमिग्रेसनमा यात्रुको चाप बढेकोले डेस्क संख्या थप्ने निर्णय भए पनि कार्यान्वयनमा भने आइसकेको छैन । विमानस्थलमा सुरक्षाका लागि एक्स-रे लगायतका आधुनिक उपकरण आवश्यक भए पनि हामीकहाँ भने पुराना र ती पनि बिग्रेको अवस्थामा रहेकाले बेला बेलामा समस्या आउने गरेको छ । साथै एक्सरे मेसिनको पनि कमी छ । 

अर्कोतर्फ एक्स-रे मेसिन चलाउने जनशक्तिको पनि अभाव र चोरी निकासी प्रहरीको दायित्वभित्र पर्ने भए पनि भन्सारमा प्रहरीको उपस्थिति छैन । 

अध्यागमनको डिपाचर तर्फका दुुईवटा काउन्टर तत्काल सुचारु गर्न पनि गृह सचिव अर्यालले निर्देशन दिएका छन् । स्टाफ हिँड्ने बाटोलाई डाइभर्ट गर्ने निर्णय भएको विषय कार्यान्वयनमा लैजान गृह सचिवबाट निर्देशन भएको विमानस्थल नागरिक उड्डयन कार्यालयका हवाई सुरक्षा महाशाखा प्रमुख श्रेष्ठले बताए । गृह सचिवको निरीक्षणले ढिलासुस्ती भएका कामलाई छिटो सम्बोधन गराउन दबाब पर्ने श्रेष्ठले बताए ।

गृह सचिव अर्यालको आकस्मिक अनुगमनबाट आफूहरू उत्साहित भएको अध्यागमन अधिकृहरुको भनाई छ । ‘यसरी बेला बेला आएर हाम्रा कुरा सुनि दिँदा र यहाँको वास्तविकता बुझिदिँदा हौसला प्रदान हुँदो रहेछ,’ एक अध्यागमन अधिकृतले भने, ‘हामीले सेवाग्राहीलाई कसरी सेवा दिइरहेका छौँ भन्ने कुरा प्रत्यक्ष देखिन्छ पनि ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका विजय ढुङ्गानाले माथिल्लो निकायबाट समय समय अनुगमन भयो भने कहीँ कतै कमजोरीहरू भएमा सच्चाउन सहज हुने बताए । ‘कतिपय कमजोरीहरू सधैँ काम गर्नेले देखेको हुँदैन । थाहा नपाउन सक्छ’, उनले भने, ‘यात्रुको गुनासो माथि पुगेको पनि हुन सक्छ । र गुनासो माथिबाट सम्बोधन गर्न सहज पनि हुन्छ ।’

त्यसैगरी फिल्ड तहमा काम गर्ने प्रहरी अधिकारीहरू पनि आइजिपीसहितको गृह सचिवको अनुगमनले आफ्ना गुनासाहरू सम्बोधन हुने विश्वास लिएका छन् ।

सो क्रममा अध्यागमन विभागका महानिर्देशक निरौलाले कार्यालयमा आवश्यक स्रोतसाधनहरू परिपूर्तिका लागि विभाग लागि परेको र स–साना आवश्यकताहरू तत्काल परिपूर्ति गराउने प्रतिबद्धता गृह सचिव अर्याल समक्ष गरेका छन् । 

प्रविधिमार्फत सेवा प्रवाहलाई सहज बनाउन जोड दिँदै आएका गृह सचिव एकनारायण अर्याल गृह मन्त्रालय तथा मातहतका निकायलाई प्रविधिमैत्री बनाउन जोड दिँदै आएका छन् । शान्ति सुरक्षादेखि सेवा प्रवाहसम्मै चुस्त बनाउँदै आएका अर्यालले गृह नेतृत्व लिएसँगै राजश्व संकलनमासमेत सकारात्मक प्रभाव देखिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस