काठमाडौँ । पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशमा पठाइदिने भन्दै एक हजार भन्दा बढी व्यक्तिलाई ठगी गर्ने कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बुधबार ६ जनालाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुर्खेतको विरेन्दनगर-९ स्थायी घर भई अहिले कोटेश्वर बस्दै आएका २७ वर्षका रेशम रावल, सोही ठाउँका २४ वर्षका प्रेमबहादुर रावल, काभ्रेपलाञ्चोक तिमाल-९ स्थायी घर भई धुम्बाराही बस्ने ३० वर्षका सुरेन्द्र तामाङ रहेका छन् ।
यस्तै मोरङको शनिश्चरे-१० स्थायी घर भई अहिले नरेफाट बस्दै आएका ३५ वर्षका सन्तवीर घिमिरे, डडेल्धुराको अमगरगडी-९ स्थायी घर भई अहिले कोटेश्वर बस्दै आएका २६ वर्षका राजेश साउँद र अछामको रामारोशन-१ स्थायी घर भई अहिले कोटेश्वर बस्दै आएका २५ वर्षका टंकराज खनाल रहेका छन् ।
उनीहरू विरुद्ध कार्यालयमा २५ जनाको जाहेरी दरखास्त आएको र जाहेरी दरखास्त आउने क्रम अझै जारी रहेको प्रहरी ले जनाएको छ । प्रहरीका अनुसार बरामद भएको रसिदको ठेली समेतका कागजात हेर्दा पीडितको संख्या एक हजार भन्दा बढी रहेको र ठगी रकम दुई करोड ५० लाख भन्दा बढी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पाइएको छ ।
उनीहरूले कोटेश्वर तथा तिनकुनेमा चार वटा विभिन्न कन्सल्टेन्सी सञ्चालन गरेर वैदेशिक रोजगारीमा पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशमा वैदेशिक रोजगारी तथा भिजिट भिषामा पठाउने भन्दै कागजात र रकम गैरकानूनी रूपले संकलन गर्दै आएका थिए ।