अमेरिकामा हुर्केको नेपाली पुस्तालाई संस्कृति चिनाउन दौडिरहेछन् बाल « प्रशासन
Logo ५ श्रावण २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

अमेरिकामा हुर्केको नेपाली पुस्तालाई संस्कृति चिनाउन दौडिरहेछन् बाल


३० जेष्ठ २०८१, बुधबार


काठमाडौँ । अमेरिका अर्थात् अहिले पनि धेरैले सपनाको देश ठान्ने भूमि। त्यहाँ पुगेर स्थायी आवासीय अनुमति पाएका नेपालीको संख्या अब हजार होइन, लाखमा पुगेको छ । जसरी अमेरिकामा नेपाली (नेपाली मूल) को बसोबास बढिरहे छ, अवसरको खोजीमा नेपाल छाडेर त्यहाँ ‘सेटल’ हुन पुगेकाहरूमा आफ्ना सन्तान नेपाल र नेपाली संस्कृतिबाट अलग-अलग होलान् कि भन्ने चिन्ता पनि देखिँदै छ । 

त्यही चिन्ताले जन्माएको हो, अमेरिकामा ‘नेपाल हेरिटेज म्युजियम’ खोल्ने योजना । अनि त्यही योजनाबाट जन्मियो म्युजियमका लागि स्रोत जुटाउने हुटहुटी । त्यही हुटहुटी बोकेर ड्यालस, टेक्ससका बाल जोशी संसारकै अग्लो स्थानमा आयोजना हुने र सबभन्दा जोखिमपूर्ण मानिने ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२४’ दौडिन आइपुगे । नेपाल हेरिटेज म्युजियम स्थापनाका लागि आवश्यक सहयोग जुटाउने उद्देश्यले संसारभरका (खासगरी नेपालीमूलकै) दाताहरिलाई अपिल गर्न एभरेष्ट म्याराथन दौडिने निधो गरेका उनले पहिलो सफलता पाएका छन् । 

गत जेठ १६ गते आयोजित ‘तेन्जिङ हिलारी एभरेष्ट म्याराथन २०२४’ उनले सफलतापूर्वक पूरा गरे । ८ घण्टा ५६ मिनेटमा संसारकै अग्लो स्थानमा हुने एभरेष्ट म्याराथन पूरा गरेपछि उनले सुनाए, “मैले यो दौड पूरा गरेँ, अब नेपाल हेरिटेज म्युजियम बनाउने खास दौड शुरु भएको छ ।”

सपनाले पछ्याएको दौड
खासमा अमेरिकामा ‘नेपाल हेरिटेज म्युजियम’ खोल्ने योजना करिब दुई दशकअघि अमेरिका पुगेका बालकै परिकल्पनाले जन्माएको हो । अहिले उनी त्यही परिकल्पनालाई आकार दिन दौडिरहेका छन् । परिणाम अब यो एउटा अभियान बनेको छ जसको अग्रभागमा उनै जोशी खटेका छन्, कुदिरहेका छन् । भन्छन्, “आर्थिक सहयोग त अमेरिकामै रहेका धनाढ्यहरूबाट पनि उठाउन सकिन्थ्यो होला । तर संसारभर छरिएका नेपाली समुदायको अपनत्व यसमा जोड्ने हाम्रो उद्देश्य हो ।”

यो परिकल्पना करिब तीन वर्षअघिको कुरा हो । अबको आधा शताब्दीपछि अमेरिकामा रहेका नेपाली समुदायको तस्बिर कस्तो देखिएला? एक दिन यही प्रश्नले चिमोटेपछि जोशीले ५० वर्षपछिको अमेरिकी नेपाली समुदाय परिकल्पना गर्न थाल े। सम्भवतः नेपालीमुलको चौथो पुस्तासमेत स्थापित भइसकेको हुने त्यो बेला नेपालसँगको सम्पर्क, सम्बन्धलाई अहिलेबाटै जोड्ने प्रयास नहुने हो भने चटक्कै टुट्न पनि सक्ने अवस्था उनको आँखाअगाडि झलझली आयो।  

अमेरिकामा अहिले थोरै संख्यामा मात्र नेपाली मूलका दोस्रो पुस्ता (नेपालीमुलका बाबुआमाबाट अमेरिकामा जन्मिएका) छन्, प्रायः पहिलो पुस्ता (नेपालमा जन्मिएर अमेरिका पुगेका) कै नेपालीको बाहुल्य छ । त्यतिञ्जेल यो पहिलो पुस्ताको के कुरा, लगभग दोस्रो पुस्ता नै सकिइसक्ने भएकाले अधिकांशको परिवार अमेरिकाको मिश्रित संस्कारमै घुलन भइसक्ने अवस्था उनले देखे। 

“नयाँ पीढीलाई नेपाल र नेपाली संस्कृतिसँग जोडिराख्न, सम्पर्कको तार टुट्न नदिन केही त गर्नैपर्छ भन्ने लाग्यो। त्यहीक्रममा नेपाल हेरिटेज म्युजियमको परिकल्पना गरिएको हो। यसको सार भनेकै अमेरिकामा नेपाल चिनाउने, नेपाल देखाउने र बुझाउने म्युजियम हो,” उनले भने। 

जोशी जतिबेला नेप्लिज अमेरिकन चेम्बरका अध्यक्ष थिए । खासमा त्यहीबेला चेम्बरकै परिकल्पनाका रूपमा उनले नेपाल हेरिटेज म्युजियमलाई अघि बढाउने योजना अगाडि सारेका हुन् । त्यसमा नेप्लिज अमेरिकन चेम्बरको भरथेग उनले पाएका छन् । 

टेक्ससको युलेसमा जहाँ नेपाली मन्दिर बनेको छ, त्यसकै परिसरमा अलग्गै संरचनासहित नेपाल हेरिटेज म्युजियम बनाउने योजना छ । यसलाई मिनि-नेपाल अवधारणाका रूपमा अघि सार्न खोजिएको छ । 

यो अवधारणा अन्तर्गत चेम्बरका तर्फबाट नेपालको पुरातत्त्व विभाग, पुरातत्त्वका क्षेत्रमा काम गरिरहेका व्यक्ति तथा संस्थाहरूसँग विभिन्न चरणमा छलफल पनि गरिसकिएको छ । “यो आजको भोलि भइहाल्ने भन्दा पनि अमेरिकामा रहेका नेपालीमुलका सबैले गर्व गर्न सक्ने गरी पुर्खाको पहिचान र नेपाली संस्कृति जगेर्ना गर्ने अवधारणा हो,” जोशी भन्छन्, “हामीले आउँदो पुस्तालाई दिन खोजेका हौँ, यसपमार्फत् नाति पुस्तासम्म नेपालसँगको सम्बन्ध र सम्पर्क टुट्न नदिने प्रयत्न हो । सुखद कुरा, अब हाम्रो कुरा बुझेर धेरैले यसमा चासो दिन थाल्नुभएको छ । कसरी सहयोग गर्न सकिन्छ भनेर कुराकानी गर्न थाल्नुभएको छ ।” 

यही सपनाले डोर्‍याएपछि जोशी पछिल्ला तीन/चार वर्षदेखि म्याराथन र अल्ट्रा म्याराथन दौडिइरहेका छन् । २०२३ मा मात्र पाँचवटा म्याराथन र दुइटा अल्ट्रा म्याराथन दौडिएका उनले अबका दुई अढाई दशक नेपाल हेरिटेज म्युजियमका लागि दिने निधो गरेको सुनाए ।

७० वर्ष अघि अर्थात् सन् १९५४ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथामा प्रथम पाइला राखेको दिनको सम्झनामा मनाइने ‘एभरेष्ट डे’ र त्यही अवसर पारेर विगत २० वर्षदेखि हुँदै आएको तेन्जिङ हिलारी एभरेष्ट म्याराथन (फुल म्याराथन) दौडिन आएका उनी दौडिएरै नेपाल हेरिटेज म्युजियमका लागि ‘फन्ड रेज’ मात्र गर्न चाहँदैनन्। विदेशमा रहेका भावी पुस्तालाई एक म्युजियम चाहिन्छ भन्ने भावनाको विकास गर्नु आवश्यक रहेको सन्देश पनि दिन चाहन्छन्। त्यसका लागि उनी दौडिएरै ‘फन्ड रेज’ गरिरहेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस