पर्खिरहेको देउराली « प्रशासन
Logo ५ असार २०८१, बुधबार
   

पर्खिरहेको देउराली


२६ जेष्ठ २०८१, शनिबार


सुस्केरा हाल्दै बटुवा देउरालीमा टुसुक्क बिसाउँथ्यो । ढाकर बोकेको ढाक्रे टेको लगाई शीतलमा भारीलाई अड्याएर खुईया गर्थ्यो । वर, पिपल, स्वामीका हरियाली रुखहरू हाँगा हाँगा मिलाएर बसेका हुन्थे।देउरालीमा चौतारीहरू हुन्थे । बेँसीमा धानका बालाहरू लहलह झुलेका देखिन्थे । लेकबाट झरेका खोला र खोल्साहरूलाई नियालिरहने देउराली चराचुरुङ्गीका गीतमा रमाइरहेको हुन्थ्यो । वरिपरिका भिर पाखा रुख बुट्टाहरू साथी बनी खेलिरहेका देखिन्थे । शान्त थियो, भर्भराउदो र उज्यालो थियो देउराली ।करुवाबाट पानी चढाउने देउराली । फूल पातीले पुज्ने देउराली । धजा पताकाले सुशोभित हुने ठाउँ देउराली । चौकुनो परेका चप्लेटी ढुङ्गाको चौतारो देउराली । गोठालाको गट्टी, डण्डिवियो, बाघचाल खेल्ने ठाउँ देउराली। यो सुन्दरतामा जब दर्जन भैसीहरु पानीको आहालमा डुबुल्की मारेको दृश्य छेउमै देखिन्थ्यो, कम्ती रमाइलो हुँदैनथ्यो ।

लासलाई जलाउन लैजाँदा नबिसाई घाटमा पुर्‍याउने कतिपय समुदायको चलन भए पनि देउरालीमा तीन फन्का घुमाएर पाँच सात मिनेट बिसाएर मात्रै लैजाने प्रचलन थियो ।लासलाई अन्तिम श्रद्धाञ्जली दिन देउरालीमा बिसाउने चलन थियो ।पितृहरूको सम्झनामा वर, पिपल, स्वामीका रुख रोप्ने, चौतारो निर्माण गरी देउराली बनाउने गरिन्थ्यो । आफ्नो र आफन्तको शेषपछि सम्झना स्वरूप देउराली बनाउने चलन थियो । जन्तीहरू बिसाएर बाजा बजाउँदै नाच्दै रमाइलो गर्ने ठाउँ थियो । बटुवालाई आराम गर्ने, ढाक्रेलाई भारी बिसाउने चौतारी माया पिरतीका भाकाहरू गाउँदै गोठालो जाँदा बस्ने ठाउँ थियो देउराली ।

देउरालीमा शिलालेखहरू प्रशस्तै पाइन्थे । माया पिरतीका भाकालाई वर्णन गरेर ढुङ्गा खोपिएको हुन्थ्यो । मन पर्नेहरूका नाम उल्लेख गरेको भेटिन्थ्यो । आफन्तको सम्झना स्वरूप चिनो छोडेका हुन्थे। देउराली बुढापाकाहरूले सवाई गाउने र सायरी सुनाउने ठाउँ थियो ।देउराली बिसाउने चौतारीका साथै पूजा गर्ने ठाउँ समेत थियो भन्ने तथ्यहरू हाम्रा लोकभाकाहरुबाट बुझिन्छ ।

“उकाली ओराली देउराली डाँडा के विधि टाढा बसौँला एकै छिन” “देउरालीमा धजा रिमै मन उतै नजा ” जस्ता गीतका भाकाले देउरालीको सम्झना दिलाउँछ । “देउरालीको चौतारीमा सङ्गिनीले आँखा छोपेको आउँछ अझै झझल्को” गीत सुन्दा देउराली हास खेल गर्ने, रमाइलो गर्ने ठाउँ रहेछ ।

हुन त अक्सिजन दिने र शीतल हुने महत्त्वपूर्ण रुखहरू वर, पिपल, स्वामी देउरालीमा रोप्नुका वैज्ञानिक कारण पनि प्रशस्तै छन् । स्वास्थ्य, सुन्दरता र सरसफाइका लागि यिनीहरू उत्तम हुन्छन् । सार्वजनिक ठाउँहरूलाई देउराली बनाउने प्रचलन थियो । गाउँघरमा नुन छरेका खर्कहरू भनिने ठाँउहरुमा देउराली वनाइन्थे।हिमाली क्षेत्रमा बाटोमा ढुङ्गा माथि ढुङ्गा राखी चुली बनाइएका भेटिन्थे । आफन्तको सम्झना, प्रिय प्रियसीहरुको यादमा यस्ता चुली वनाइन्थे । यिनीहरूलाई पनि देउराली नै भनिन्छ ।देउरालीमा बाटो हिँड्ने वटुवाले एउटा भए पनि ढुङ्गा थप्दै जाने चलन थियो ।

हिमाली क्षेत्रमा डाँडा पाखा भिर जङ्गल हुने र मानिसको बसोबास कम हुने भएकोले बाटो पहिल्याउन र जङ्गली जनावरहरूको डर नभएको संकेत पनि देउरालीले गर्थ्यो । किसानहरूको गाउँघरमा गोठको धूप गर्ने चलन थियो । ढुङ्गा ठड्याएर धागोले वरिपरि बेरी धनुषकाँण भिराई देउराली बनाउने, खिर चढाउने, पूजा गर्ने चलन कतिपय समुदायहरूमा थियो ।घाटु नाच्न, साकेला नाच्न देउरालीमै जम्मा हुने प्रचलन थियो।खेताला जाँदा देउरालीको चौतारीमा बसेर खाजा खानु, मोही पिउनु, पानी पिउनुको छुट्टै रमाइलो थियो ।तिहारमा देउसी खेलेको पैसा देउरालीमै जम्मा भएर बढ्दा कति रमाइलो हुन्थ्यो । नाच गान गर्ने, नाटक देखाउने रमणीय स्थल देउराली थियो।सफा ठाउँ, रमाइलो वातावरण, हरियो दुवो, शीतल हावाले मन आनन्दित बनाउने ठाउँ पनि देउराली नै थियो ।

चौबाटो, दोबाटो, उकाली ओराली भञ्ज्याङ्गहरुमा देउराली आराम गर्ने ठाउँ हो ।देउराली डाँडा, देउराली भञ्ज्याङ्ग, देउराली चोक, देउराली बजार देउरालीका नाममा विभिन्न नामहरू जोडिएका भेटिन्छन् ।देउराली गाँउसमाजका मानिस भेला हुने, गफ गर्ने, रमाइलो गर्ने ठाउँ हो। समाजको कचहरी बस्ने, पञ्च भलादमीहरूको भेला हुने, आपसी असमझदारीहरूको छिनोफानो हुने ठाउँ हो देउराली ।बूढाबूढीहरूले सुख दुखका कुरा गर्ने ठाउँ हो देउराली । देउरालीमा घाँसका भारी बिसाएर घर परिवार र समाजका कुराहरू हुन्थे । तनाव हराउँथ्यो र आनन्दको अनुभूति हुन्थ्यो ।

“देउराली भञ्ज्याङ्ग उकालो जाँदा पसिनाको धारा” गीतको भावले पनि देउराली हिँड्दै जाँदा बीच बाटोको भ्याङ्गलाई भनिदोरहेछ ।

अचेल देउरालीहरू शोकमा छन् । तनावमा छन् । बेखुसी छन् र अँध्यारो अनुहार लाएर झोक्राइरहेका छन् ।

गाउँका युवाहरू शिक्षा स्वास्थ्य रोजगारीका लागि सहर पसेका छन् । कति विदेशिएका छन् ।छोरी बुहारी बच्चाहरू पढाउन सहर पसेका छन् ।घरमा बुढा बाउआमाहरू घिस्रिँदै भए पनि देउरालीलाई सम्झेर बसेका छन् ।अलिअलि आम्दानी गर्नेहरू तीन चार आना जग्गा जोडेर सहर की तराई तिर झरेका छन् । नझरे पनि थोर बहुत जग्गा जमिन सहरमै जोडेकै छन् । गाउँमा बाँदरले बसिखान दिएको छैन ।गाउँहरू घोरल, मृग, बँदेल जस्ता जङ्गली जनावरको वासस्थान भएका छन् । मकैका बिरुवा उखेलेर फालिदिन्छन् । घरको बिस्कुन पोखिदिन्छन् । धानका पाँजामा उफ्रिन्छन् र फलफूलका बिरुवा भाँचिदिन्छन् ।खेती हुँदैनन् गाउँघरका जग्गा बाँझा छन् । खेताला पाइँदैनन् । जोत्ने गोरु पाइँदैनन् । बसाइँ सरेर घरहरू थोत्रिएका छन् ।बोराका प्याकेटमा देशी चामल पुगेको छ । दूधका प्याकेट आउन थालेका छन् गाउँमा ।

पानीका मिटर चढ्न थालेका छन् । आजकाल गाई, भैसि, बाख्रा, सुँगुरका मूर्तिहरू बन्न थालेका छन् । देउरालीले एक ठेकी दही, चार पाथी घिउ, सय मुरी धान, तिस मुरी कोदो, चालिस मुरी गहुँ, तीन थाङ्ग्रा मकै, ढिँडो, कोदो जस्ता शब्दहरू सुन्न छोडेको धेरै भइसक्यो । चप्लेटी ढुङ्गा पाउन छाडेको धेरै भइसक्यो । सुसेली हाली वोलाको सुनेको छैन,  झ्याउरे भाकामा गीत नसुनेको धेरै भयो देउरालीले । देउरालीले आजकाल बाघचाल, डण्डिवियो, कबड्डी खेलेको देखिँदैन । सडकका योजना गाउँमा पुगेकाले देउरालीमा डोजर लागेका छन्।

देउरालीका वर, पिपलमा फूलपाती अबिर देखिँदैनन् । धागाले बेरिन छोडेका छन् । देउरालीका वर, पिपल स्वामीका रुखहरू ढलेका छन् । पानी नपाएर किक्रिक्क परेका छन् । देउराली उराठ लाग्दो भएको छ ।आहालमा गाई भैँसी देखिन छाडेका छन् । आहालहरू सुकेका छन् । बाँसुरीको धुन बज्दैनन् ।देउरालीमा खेत जोत्ने हलीहरू हलो जुवा बिसाउँदैनन् । दसैँ तिहार जस्ता चाडपर्वमा हालिने रोटे लिङ्गे पिङ्गहरु देउरालीले नदेखेको धेरै भयो ।  देउरालीमा ढाक्रेहरू ढाकर टेकाउँदैनन् । बटुवाहरू बिसाउँदैनन् । चराहरू चिरविराउदैनन् ।गोठालाहरू नदेखेको धेरै भयो ।

पहिले नजिकै देखिने पानीका मुहानहरू सुकेका छन् । कुवा, इनारहरू खण्डहर भएका छन् । डोजरका आवाज, खन्ती कोदालोका आवाज मात्रै देउरालीले सुनेको छ । भएका वर पिपल स्वामीका रुखहरू बुढा भए, नयाँ रोपिन छाडे ।वर पिपलको विवाह हुन छाडेकाले वंश मासिँदै गएको पो होला की।खडेरी पर्दा वर्षातको माग गर्न र प्रकृतिको पूजा गर्न गरिने संसारी पूजा, भ्यागुताको विवाह, वर पिपलको विवाह गरेको आजकाल देखेको छैन ।

पटक पटक हुने चुनाव ताका भने देउरालीले चहलपहल देख्छ । मोटरहरू धुलो उडाउँदै हुइँकिएका दारुण दृश्य देख्छ ।विकासका लागि आएको बजेट सक्न उपभोक्ता समितिका नाउँमा सहरबाट नेताहरू वर्षमा एक दुई चोटि गाउँ छिरेको देख्छ ।देउरालीको सामिप्यतामा, चौतारीको काखमा मान्छेहरू आउनै छाडेका छन् ।चराचुरुङ्गिहरुले वास सारेका छन् ।तर पनि दसैँ तिहार छठजस्ता पर्वहरूमा सहरबाट आएका युवाहरू आकलझुकल देउरालीमा देखिन्छन् ।

कंक्रिटका भ्यु टावर ठडिएका वेला देउराली एक्लै ठिङ्ग उभिएको छ ।वरिपरि खेतीपाती हरियाली केही देखेको छैन । बाँझो बारीका पाटाहरू मात्रै देख्छ देउराली ।देउराली बुढो भएको छ । आखाँहरु धमिला भएका छन् देउरालीका ।देउराली रोइरहेको छ । देउरालीलाई आँसु पुछिदिने, पानी दिने कोही छैन । देउरालीको उपचार गर्ने अस्पतालको खाँचो छ ।

देउराली चाहन्छ बटुवाहरू सुस्केरा हाल्दै बसिदिउन्  ।  ढाक्रेहरूले भारी बिसाइदिउन् । खेतमा लहलह धानका बालाहरू झुलिरहेका देख्न पाइयोस्। सनई, दमाहा, ढोलक जस्ता पञ्चे बाजा बज्दै बेहुला, बेहुली, जन्तीहरू देउराली चौतारीमा बिसाएर नाचिदिउन् ।  छेवैको पोखरीमा गाई भैँसी पौडी खेलिरहुन् । सुसेली र झ्याउरे गीतमा बाँसुरीहरू बजिरहुन् । बुढापाकाहरूका सायरी र सवाईहरू सुन्न पाइयोस् । चराचुरुङ्गीहरू चिरबिराइ रहून् । 

Tags :
प्रतिक्रिया दिनुहोस