काठमाडौँ। प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थी रिहाइको माग राख्दै विराटनगरमा विद्यार्थीहरूले सडक अवरुद्ध पार्ने प्रयास गरेका छन् । मोरङको रंगेली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्दै सडक अवरुद्ध पारिएको हो ।
उनीहरूलाई प्रहरीले हटाएको मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।
प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार प्रहरीले रंगेली नगरपालिकाका कार्यवाहक मेयर ढकप्रसाद ढकाल, प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपाने लगायतलाई दुर्व्यवहार गरेको आरोपमा ६ जना विद्यार्थीलाई पक्राउ गरेको छ ।
पक्राउ परेका विद्यार्थीको निर्शत रिहाइको माग गर्दै शुक्रवार दिउँसो महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीले कोशी राजमार्गअन्तर्गत विराटनगरको रोड शेषमा सडक अवरुद्ध गरेका हुन् ।
बिहीबार रंगेली नगरपालिकाका कार्यवाहक मेयर एवं रङेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि बिहीबार विद्यार्थीले दुर्व्यवहार गरेका थिए । सो क्रममा नगरपालिकामा झडप समेत भएको थियो ।
दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका स्ववियु सदस्य सदस्य दीपक यादवसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।