काठमाडौँ । सहकारीको रकम अपचलनका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन समितिलाई गृहमन्त्री रवि लामिछानेदेखि महान्यायाधिवक्ता दिनमणि पोखरेललाई समेत बयानका लागि बोलाउन प्रमुख विपक्षी नेपाली काँग्रेसले सुझाव दिएको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै काँग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समितिको कार्यक्षेत्रमा गृहमन्त्रीको नाम राख्न नसकिए पनि उनी छानबिनको दायराबाट बाहिर नरहेको बताए ।
थापाले भने, ‘यो छानबिन समितिले सहकारीबाट गोरखा मिडियामा गएको रकमबारे छानबिन गर्नेछ । एक रुपैयाँ गए पनि एक करोड गए पनि त्यो गैरकानूनी नै हो । गोरखा मिडियाको मालिका जीवी हुन् कि छवि हुन् कि रवि हुन् । जो भए पनि समितिले बोलाउँछ र कानूनबमोजिम कारबाहीको सिफारिस पनि गर्छ । समितिका साथीहरूबाट यही भूमिकाको अपेक्षा हामीले गरेका छौँ ।’
महामन्त्री थापाले सहकारी ठगको पक्षमा उभिएका महान्यायाधिवक्तादेखि प्रहरी महानिरीक्षकसम्मलाई पनि बयानका लागि समितिले बोलाउनुपर्ने बताए ।