काठमाडौँ । गृह मन्त्रालयले प्रहरीको उमेर हद अध्ययन गर्न कार्यदल गठन गरेको छ । गृह मन्त्रालयले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा कार्यरत अधिकारीहरूको उमेर हदबारे अध्ययन गर्न सात सदस्यीय कार्यदल गठन गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार गृह मन्त्रालयका सहसचिव एवं कर्मचारी महाशाखा प्रमुख झक्कप्रसाद आचार्यको संयोजकत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका डिआइजीपी, अर्थ मन्त्रालयका उपसचिव, गृह मन्त्रालयको कानुन उपसचिव, मन्त्रालयले तोकेको सुरक्षा विज्ञ र गृहका उपसचिव एवं प्रहरी कर्मचारी प्रशासन शाखा प्रमुख कृष्ण गैरे सदस्यसचिव रहेको सात सदस्यीय समिति गठन भएको छ ।
समितिले मौजुदा ऐन, नियमहरूको अध्ययन गरी अन्य मुलुकका अभ्यासहरूसमेतको आधारमा एक महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।
आगामी आर्थिक वर्षको बजेटमा सुरक्षाकर्मीको सेवा निवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गरिने उल्लेख गरिएको थियो । ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको संस्थागत सुदृढीकरण गरी दक्ष एवं व्यावसायिक बनाइनेछ । सुरक्षाकर्मीको सेवा निवृत्त हुने उमेर पुनरावलोकन गर्न अध्ययन गरिनेछ’ बजेटको २५८औँ बुँदामा भनिएको छ । सोही बुँदा कार्यान्वयन गर्दै गृहले अध्ययन समिति गठन गरेको हो ।