काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान गठबन्धन पूरा समय नै कायम रहने दाबी गरेका छन् ।
जनता समाजवादी पार्टी र समाजवादी पार्टीमा आएको नयाँ राजनीतिक घटनाक्रमसँगै अब सत्ता समीकरण पुरै समय कायम रहने बताएका हुन् ।
सिन्धुपाल्चोक सदरमुकाम चौतारामा चीन सरकारको सहयोगमा निर्माण सम्पन्न भएको चौतारा अस्पताल उद्घाटनमा आएका प्रधानमन्त्री दाहालले त्यस अघि माओवादी केन्द्र सिन्धुपाल्चोकले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा सत्ता समीकरणमा अब कुनै समस्या नरहेको बताएका हुन् ।
वर्तमान सत्ता गठबन्धनमा भए पनि नेकपा एससँग यस अघि केही समस्या भए पनि अब कुनै समस्या नरहेको प्रधानमन्त्री दाहालले बताए ।
‘अब समाजवादीसँग पनि कुनै समस्या छैन, गठबन्धनमा रहेको प्रमुख दल एमाले सहित सबै दलहरू यो सत्ता समीकरण पुरै समय चलाउनका लागि सकारात्मक हुनुहुन्छ ।’ प्रधानमन्त्री दाहालले भने।
संसदमा देखिएको गतिरोध अन्त्य भएर बजेट समेत आएको बताउँदै प्रधानमन्त्री दाहालले नीति तथा कार्यक्रममा पेस भएपछि राष्ट्रपतिलाई ससंदबाट धन्यवाद दिन नसक्ने हो की भन्ने आफूलाई डर लागेको र आफ्नै अग्रसरतामा संसदमा देखिएको गतिरोध अन्त्य भएको प्रधानमन्त्री दाहालले बताए ।